विमानस्थलका हाकिम पक्राउ : साथमा भेटियो पाँच बोतल ब्ल्याक लेवल र एक बोतल डबल ब्ल्याक लेवल

विमानस्थलका हाकिम पक्राउ : साथमा भेटियो पाँच बोतल ब्ल्याक लेवल र एक बोतल डबल ब्ल्याक लेवल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालय गौचरमा आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका नवौं तहका पूर्णप्रसाद चुडाललाई अख्तियार टोलीले घुससहित पक्राउ गर्‍यो ।

झापा बाह्रदशी गाउँपालिका–६ का स्थायी बासिन्दा ५१ वर्षीय चुडालमाथि अनुसन्धान जारी छ । तर, उनले लिने घुस र त्यसको प्रवृत्ति भने रोचक देखिएको छ ।विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्ने पास मिलाएर सजिलो बनाइदिएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

त्यस्तो सहजीकरण गरेबापत चुडालले मासिक १० हजारका दरले घुस लिएको अख्तियार टोलीले भेटेको छ । उनले ०७८ कात्तिकदेखि प्रतिमहिना १० हजारका दरले १५ महिनाको एकमुष्ठ डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार स्रोतले बतायो ।

Europass CV in Nepal

घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै अख्तियार टोलीले उनलाई पक्राउ गरेको हो । कार्यकक्षभित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको आठ लाख रुपैयाँ रकम र पाँच बोतल ब्ल्याक लेवल, एक बोतल डबल ब्ल्याक लेवल, चिभास रिगल, ग्ले’ नफिडिक, गोर्खाज एण्ड गन्स गरी नौ बोतल मदिरा बरामद गरेको छ ।

त्यस्तै, चार थान मोवाइल फोन पनि टोलीले बरामद गरेको छ । अख्तियारले चुडालमाथि थप अनुसन्धान चलिरहेको जनाएको छ । त्यस्तै उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नपाएको ओहोदा पाएँ भनी पदीय मर्यादा विपरीत काम गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। डा गिरीले गरेको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसूर भएको भन्दै अख्तियारले उनलाई सोही दफा अनुसार

एक वर्षदेखि २ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँ जरिवाना माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। उपकुलपति पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस् भनी बदनियतसाथ आधिकारिक निकायबाट प्राप्त नपाएको ओहदा पाएँ भनी दुरुपयोग गरेको देखिएको भण्डारीले बताए।

प्रतिष्ठानको उपकुलपति नियुक्त डा गिरीले आफ्नो नामको अगाडि प्राध्यापक लेख्दै आएका थिए। उनको प्राध्यापक पद नक्कली भएको भन्दै लामो समय प्रतिष्ठानमा आन्दोलन भएको थियो। साथै, उक्त कार्यमा ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका देखिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसूरमा कार्कीविरुद्ध पनि मुद्दा दायर गरेको छ।