बालुवा नपाएपछि नागढुंगामा सुरुङमार्गको बन्द, नेपालीको हर्कत देखेर जापानिज इन्जिनियर पनि चकित

बालुवा नपाएपछि नागढुंगामा सुरुङमार्गको बन्द, नेपालीको हर्कत देखेर जापानिज इन्जिनियर पनि चकित

काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणको काम ठप्प भएको छ । शिलान्यास भएको करिब ३९ महिनामा करिब ४८ प्रतिशत काममात्रै सकिएको अवस्थामा बालुवा अभाव भएपछि सुरुङमार्गको काम रोकिएको हो ।

२० पुसमा गृह मन्त्रालयले अवैध क्रसरहरु बन्द गर्न निर्देशन दिएपछि सुरुङमार्ग खने लगत्तै भित्तामा फ्याक्नुपर्ने बालुवाको अभाव भएको छ । क्रसरमा धोएको बालुवा अभावले सुरुङमार्ग खन्ने काम नै रोकिएकाले आयोजाको निर्माणमा थप ढिलाइ हुने अवस्था आएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।

‘ठेकेदार कम्पनीले आपत्ति जनाएको छ, काम नै रोक्नुपर्ने अवस्था आउँदा पनि हामीले केही गर्न सकेनौं’ उनी भन्छन् ।४२ महिनाभित्र सक्ने गरी ४ कात्तिक २०७६ मा सुरुङमार्ग आयोजना निर्माण सुरु भएपनि मुआब्जासहित पूर्वतयारीको काममा भएको ढिलाइले आयोजना निर्धारित समयमा नसकिने निश्चित भइसकेको छ ।

Europass CV in Nepal

लक्ष्यअनुसार काम हुने हो भने अबको ४ महिना अर्थात् आगामी वैशाखभित्र आयोजनाको काम सकिनुपर्छ । तर, अहिले मुख्य सुरुङमार्गको काम नै ठप्प भएको छ ।मुख्य संरचनाको काम नै धेरै बाँकी रहेकाले आयोजना तोकिएको समयमा भन्दा पछि धकेलिने निश्चित भइसकेको छ । उद्घाटन गर्नुपर्ने सयममा आयोजनामा करिब आधा मात्रै काम सकिने अवस्था छ ।

पुससम्म मूल सुरुङमार्ग र त्यसका सहायक सुरुङमार्ग खण्ड खन्ने काम करिब ७३.५ प्रतिशत सकिएको सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजनाका अनुसार मुख्य सुरुङमार्गको २ हजार ६८८ मिटर मुख्य सुरुङमार्गमध्ये करिब १ हजार ८०० मिटर सुरुङ खनिएको छ ।

वर्किङ अडिटको पुरै १२६ मिटरको काम सकिएको छ । वर्किङ पासेज १२८ मिटरमध्ये ७४.२ मिटर मात्रै निर्माण भएको छ । आयोजनाले साढे ९ सय मिटरभन्दा बढी सुरुङमा कंक्रिट लाइनिङ गरेको छ ।

३ वटा अन्डरपासको निर्माण सकिएको छ, ४ वटा बक्स कल्भर्ट बनेको छ । एउटा ओभरपास र ३ वटा पुल पनि तयार भइसकेका छन् ।फ्लाइओभर निर्माणका लागि जग राख्ने काम हुँदैछ भने मुआब्जा वितरणको काम पनि पुरा हुन सकेको छैन ।

सडक खन्ने काम ७८ प्रतिशत सकिएको छ भने पुर्नका लागि गर्नुपर्ने काम करिब ६५ प्रतिशत सकिएको छ । कुल आयोजनामा अहिलेसम्म ४८ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ । अहिलेसम्म आयोजनाको कुल बजेटमध्ये करिब ५० प्रतिशत रकम खर्च भइसकेको छ ।

सुरुङसँग राजमार्गलाई जोड्न पहुँच सडक र फ्लाइओभरको ५ मध्ये ४ वटा संरचना निर्माण निर्माण भइसकेको छ ।आयोजनाका अनुसार सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर (२ हजार ८७२) को पहुँचमार्ग बनाउनुपर्छ । यसका लागि गुर्जुधाराचोक र सुरुङको मुखमुनि दुईवटा फ्लाइओभर बनाउनुपर्छ । गुर्जुधारामा बन्ने फ्लाइओभर ६१० मिटरको हुनेछ ।

कलंकीबाट बलम्बु हुँदै नागढुंगा जोड्ने सडक क्रस गराउन करिब १५० मिटर लामो अर्को फ्लाइओभर बनाउनुपर्छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको १४ महिनापछि पुस २०७७ मा सुरुङमार्गमा खन्ने काम सुरु भएको थियो । २.६६८ किलोमिटर लामो यो सुरुङमार्ग वैशाख २०७७ देखि सुरु गर्ने योजना थियो ।

समयमै मेसिन नआइपुगेको, सुरुङको मुखको जग्गाको मुआब्जा विवाद नसल्टिएको लगायत कारण देखाउँदै काममा ढिलाइ भएको थियो । समय–समयमा निर्माणमा आइरहेको व्यावधानका कारण पनि आयोजना तोकिएको समयमै सम्पन्न नहुने अवस्थामा आइपुगेको हो ।

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि सहुलियत ऋण उपलब्ध गराएको छ । नेपाल सरकारले ५ अर्ब ५३ करोड लगानी गर्ने यो सुरुङमार्ग बनेपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ ।