जताततै आफ्ना मान्छे घुसाएर पुराना दलले प्रणाली सखाप बनाएका रहेछन : गृहमन्त्री लामिछाने

जताततै आफ्ना मान्छे घुसाएर पुराना दलले प्रणाली सखाप बनाएका रहेछन : गृहमन्त्री लामिछाने

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख र उपसभामुखलाई बधाई दिँदै गृहमन्त्री लामिछानेले यसअघि सत्ता सञ्चालन गर्ने दलहरूले राज्यका संयन्त्रलाई थिलथिलो बनाएर छाडेका कारण परिणाम ल्याउन केही समय लागेको बताए ।

‘राज्यका संयन्त्रहरूलाई थिलथिलो बनाएर छोडिएको छ । काम गर्नेहरूलाई कानुनको पालना गर्नेभन्दा पनि आदेश पालना गराउने गरी यति निरीह बनाएर राखिएको छ,’ उनले भने, ‘हामी नयाँले जिम्मेवारी सम्हाले पनि हामीमाथि त्यही कोणबाट प्रश्नहरू आउने रहेछन् । तर म कामको माध्यमबाट, परिणामको माध्यमबाट ती प्रश्नहरूको जवाफ दिन चाहान्छु ।’

उनले राज्य संरचना र प्रणाली सुधारका लागि अन्य दलहरूको समेत सहयोग आवश्यक पर्ने बताए ।‘नेपाली जनताले ठूलो आशा र भरोसा राखेर तपाईं/हामीलाई जिताएर पठाएका छन् । अहिलेको राज्य संरचनामा निकै सुधार चाहिएको छ,’ प्रतिनिधिसभाका सदस्यहरूलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले भने, ‘प्रणालीगत सुधारका लागि हामीले प्रयास गर्नुपर्ने देखिएको छ ।

Europass CV in Nepal

प्रणाली सुधार र मापदण्डहरू निर्माणमा गृहमन्त्रालय केन्द्रित छ । अहिले सबै विषयहरूलाई लिएर म यही भन्छु कि राज्यका संयन्त्रहरूलाई हिजो चलाएजस्तो गरी अब चलाउन छोडिदिनुहोस्, आधा काम त्यतिकै सहज हुनेछ ।’

उनले सीडीओ आफ्नो, डीएसपी आफ्नो र सकेसम्म राज्यका निकायमा जिम्मेवार व्यक्ति आफ्नो हुनुपर्छ भन्ने सोच सबैले त्याग्न सक्नुपर्ने बताए । ‘सीडीओ आफ्नो चाहिएको छ, डीएसपी आफ्नो चाहिएको छ । सबैलाई राज्यको जिम्मेवार ठाउँमा आफ्नो मान्छे नै चाहिएको छ,’ उनले भने, ‘त्यसरी त प्रणाली सुधार गर्न तपाईहरूको योगदान के हुन्छ ? त्यसैले अब तपाईंहरू गृह प्रशासनले बनाएको संयन्त्रमाथि विश्वास गरिदिनुहोस्, व्यक्ति होइन, प्रणालीलाई बलियो बनाऔँ, प्रणालीले काम गर्छ । त्यसपछि नागरिकले सुशासनको अनुभूति गर्न सक्नेछन् ।’

उनले अघि भने, ‘अहिले किन काम हुँदैन, ढिला हुन्छ त ? यसको जवाफ सजिलो छ, राज्यका संयन्त्रहरूलाई चलाइएको छ, गिज्याइएको छ । ट्रयाकभन्दा बाहिर पुर्‍याइएको छ । त्यसैले म विश्वास दिलाउन चाह‍न्छु, त्यस्ता ठाउँहरूलाई ठीक गरेर नै हामी अहिले उठेका विषयहरूमा हामी निष्कर्षमा पुग्छौँ ।’

उनले अहिले सरकार र आफूमाथि उठेका प्रश्नहरूको जवाफ परिणाममा दिने बताएका छन् । उनले आफू नतिजा दिने गरी काम गर्ने पक्षमा रहेको बताए ।

Europass CV in Nepal