राष्ट्रपति चयनको विषयमा एमालेसंग सम्बन्ध विग्रिएको छ : प्रचण्ड

राष्ट्रपति चयनको विषयमा एमालेसंग सम्बन्ध विग्रिएको छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताएका छन्। पार्टी कार्यालयमा बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा उनले संसदमा दुई दलबाहेक सबैले विश्वासको मत दिएकाले राष्ट्रिय सहमति गर्नुपर्ने जिम्मेवारी आफ्नो काँधमा आएको ब्रिफिङ गरे।

‘संसद सहभागी लगभग सबै दलले विश्वासको मत दिएको अवस्थामा छ। यस्तो अवस्थामा सबैलाई मिलाएर लैजाने कार्यभार ममाथि आएको छ। त्यही भएर राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने जोड मैले सत्ता गठबन्धनमा गरेको छु,’ बैठकमा प्रचण्डले भने। उनले राष्ट्रिय सहमतिमा जोड दिँदा गठबन्धनभित्र केही असन्तुष्टि आएको स्पष्ट पारे।

‘राष्ट्रिय सहमतिमा जानुपर्छ भन्दा गठबन्धनभित्र केही दलसँग अन्डरस्ट्यान्डिङ बिग्रेको छ। त्यो अनडरस्ट्यान्डिङ पनि मिलाउनुपर्ने छ,’ एमालेलाई इंगित गर्दै उनले भने।

Europass CV in Nepal

अध्यक्ष प्रचण्डले बैठकमा अनौपचारिक प्रतिवेदन बाँडेको बैठकमा सहभागी एक नेताले बताए। ‘अध्यक्षज्युले डकुमेन्ट बाँड्नुभएको छ। सबैलाई अध्ययन गरेर आउन भन्नुभएको छ। समसमायिक राजनीति र पछिल्लो परिस्थितिबारेको डकुमेन्ट रहेको बुझिएको छ,’ ती नेताले अन्नपूर्णसँग भने।

उपमहासचिव गरिराजमणि पोखरेलले राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्ने विषयमा बैठकमा छलफल भएको बताए। संसदमा दुइटा पार्टीबाहेक सबै दलले विश्वासको मत दिएकाले नयाँ परिस्थिति सिर्जना गरेको उनको भनाइ छ।

‘दुइटा पार्टीबाहेक संसदमा भएका सबै पार्टीले विश्वासको मत दिएको छ। त्यसले नयाँ परिस्थिति जन्माएको छ। नयाँ परिस्थितिमा सबै शक्तिलाई कसरी मिलाएर लैजाने जिम्मेवारी माओवादीलाई,’ उनले भने।

गत ४ माघमा प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वदलीय बैठक पनि राष्ट्रिय सहमतिकै लागि भएको उनले बताए। ‘प्रधानमन्त्रीज्यु राष्ट्रिय सहमतिमै जोड दिनुभएको छ। त्यसका लागि सरकारमा सहभागी सबै दलसँग निरन्तर सम्बाद पनि भइरहेको छ,’ उनले भने।

माओवादी नेता देवेन्द्र पौडेलले एमालेसहितको राष्ट्रिय सहमतिमा पार्टीको जोड रहेको बताए। ‘हामीले एमाले बिनाको राष्ट्रिय सहमति भनेका छैनौं। सबैमा सहमति जुटाएर संविधानले व्यवस्था गरेअनुरुप साझा व्यक्तित्वलाई अघि सार्न सक्यौं भने सम्भावित भोलि हुने दुर्घटना रोक्न सकिन्छ भन्ने हाम्रो भनाइ हो,’ बैठकपछि उनले सञ्चारकर्मीसँग भने।

Europass CV in Nepal