मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्रीलाई जरिवाना

Himali Patrika 1 मिनेट पढाइ

बेलायती प्रहरीले प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना तिराएको छ। गुडिरहेको कारमा सिट बेल्ट नलगाई बसेपछि प्रहरीले उनलाई जरिवाना गरेको रोयटर्सले जनाएको छ।सुनक कारको पछाडिपट्टिको सिटमा बसेका थिए। उनले त्यहाँ बसेका बेला इन्स्टाग्रामका लागि भिडिओ खिचेका थिए।

भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि सुनकले बिहीबारै माफी मागिसकेका थिए। ल्यांकशर नगर प्रहरीले भने यसबारे जाँचबुझ गर्ने भनेको थियो। चलिरहेको कारमा सिट बेल्ट नबाँधी बसेर ट्राफिक नियम उल्लंघन गरेको ठहर भएपछि शुक्रबार प्रहरीले उनलाई जरिवाना भराएको हो।

ल्यांकशर प्रहरीले प्रधानमन्त्री सुनकको नाम उल्लेख नगरी लन्डनका ४२ वर्षीय पुरूषलाई जरिवाना गरेको ट्विट मार्फत् जनाएको छ।’ल्यांकशरमा गुडिरहेको कारमा यात्रुले सिट बेल्ट नलगाएका लन्डनका ४२ वर्षीय व्यक्तिलाई जरिवाना गरेका छौं,’ ल्यांकशर प्रहरीले ट्वीट गरेको छ।

प्रहरीले जरिवानाको घोषणा गरेलपछि प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गरेको छ।विज्ञप्तिमा भनिएको छ- प्रधानमन्त्रीले यो गल्तीलाई पूर्ण रूपमा स्वीकार गरेर माफी समेत माग्नुभएको छ र आगामी दिनमा नियम पूर्ण रूपमा पालना गर्नुहुनेछ।

सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा १०० पाउन्डसम्म जरिवाना गर्न सकिन्छ। मुद्दा अदालतमा पुग्यो भने उक्त जरिवाना ५ सय पाउन्डसम्म पुग्न सक्छ।सुनक गत वर्ष पनि प्रहरीको कारबाहीमा परेका थिए। कोरोनाकालमा लागू भएका नियम उल्लंघन गरेको आरोपमा उनलाई कारबाही भएको थियो। सुनक पदमा रहेकै बेला यसरी नियम उल्लंघन गर्ने दोस्रो प्रधानमन्त्री बनेका छन्। यसअघि बोरिस जोनसोन पनि कोरोना नियम नमान्दा कारबाहीमा परेका थिए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।