हिउँ खेल्न काठमाडौं नजिकका उत्कृष्ट गन्तव्यहरु

हिउँ खेल्न काठमाडौं नजिकका उत्कृष्ट गन्तव्यहरु

पुस १४, काठमाडौं । आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । काठमाडौं उपत्यकावासी धेरै हिउँ खेल्न जाने नजिकका गन्तव्यहरूमा पनि धेरैतिर हिउँ पर्न थालिसकेको छ ।

चन्द्रागिरी
चन्द्रगिरि काठमाडौंवासीको लागि हिउँ खेल्न नजिक र सहज गन्तव्य हो । केवलकारबाट चन्द्रगिरि डाँडोमा पुगेर हिउँमा रमाउन सकिने यो गन्तव्यमा मंगलबार रातिदेखि नै भारी हिमपात परिररहेको छ । हरेक वर्ष हजारौं आन्तरिक पर्यटकहरु हिउँ खेल्न चन्द्रगिरि पुग्ने गर्छन् । चन्द्रागिरि पुग्नको लागि सार्वजनिक गाडीमा जाने हो भने रत्नपार्क वा कलंकीबाट थानकोटसम्म पुग्ने चन्द्रागिरि यातायातमा गएर पैदल या केवलकारमा चन्द्रागिरि उक्लिन सकिन्छ । निजी सवारी साधनमा पनि चन्द्रागिरि डाँडोसम्मै पुग्न सकिन्छ ।

शिवपुरी
शिवपुरी पनि हिउँ खेल्नको लागि आकर्षक गन्तव्य हो । काठमाडौंबाट नजिक एवं रमणीय ठाउँमा पर्ने यो क्षेत्रमा पनि हरेक वर्ष पर्यटकको घुइँचो लाग्ने गर्छ । यहाँ पुग्नको लागि सुन्दरीजल या बुढानीलकण्ठसम्म गाडीमा गएर त्यसपछि पैदल हिँड्नुपर्छ । बुढानीलकण्ठको लागि महाराजगञ्जबाट गाडी पाइन्छ भने सुन्दरीजल जानको लागि चावहिलबाट गाडी पाइन्छ । निकुञ्ज क्षेत्र भएकोले यहाँ जाँदा निकुञ्जको टिकट काटेर जानुपर्छ ।

Europass CV in Nepal

फुल्चोकी
ललितपुरको फुल्चोकी पनि हिउँ खेल्नको लागि काठमाडौंबाट नजिकको गन्तव्य हो । गोदावरीबाट १३ किलोमिटर उकालो चढेपछि फुल्चोकी पुगिन्छ । सातदोबाटोबाट गोदावरीसम्म पुगेर त्यहाँबाट फुल्चीकीतिर उकालो लागिन्छ । सो ठाउँमा पुग्नको लागि मोटरसाइकल र गाडीमा जाने सुविधा पनि छ । तर कहिलेकाहीँ अत्यधिक हिउँले बाटोमा अवरोध पनि हुन सक्छ ।

नगरकोट
नगरकोट पनि काठमाडौं नजिकको हिउँ खेल्न जानेहरुको लागि उत्कृष्ट गन्तव्य हो । खानपानको राम्रो सुविधा सहित आकर्षक पर्यावरणको दृश्यावलोकनको लागि समेत चर्चित रहेको यो ठाउँ पुग्न अनेक बाटाहरु छन् । तर भक्तपुरको कमलविनायकबाट पनि यो ठाउँ जान सकिन्छ । यहाँ पुग्ने धेरै बाटोहरु भए पनि यो बाटो बढी उचित मानिन्छ ।

लाकुरीभञ्ज्याङ
लाकुरी भन्ज्याङ तीन जिल्ला ललितपुर, भक्तपुर र काभ्रेले छोएको ठाउँ हो । लाँकुरीभन्ज्याङ पुग्न लगनखेलबाट लुभु–पनौती जाने गाडी चढ्नुपर्छ । आफ्नो साधन लिएर पनि लुभुहुँदै कुल १९ किलोमिटरमा लाकुरी भञ्ज्याङ पुग्न सकिन्छ । लगनखेलबाट लुभुसम्म ७ किलोमिटर र त्यहाँबाट १२ किलोमिटरमा लाँकुरी भन्ज्याङ पुग्न सकिन्छ। उपत्यकाको धेरै नजिक पर्ने यो पिकनिक र हिउँ खेल्नको लागि चर्चित छ । लाकुरी भन्ज्याङबाट १० किलोमिटर ओरालो झरेर पनौती पुग्न सकिन्छ ।

कालिन्चोक
काठमाडौंबाट एकदिनको यात्रामा पुगिने ठाउँ हो कालिन्चोक । त्यहाँ धार्मिक पर्यटकसँगै हिउँ खेल्न जानेहरुको पनि भीड लाग्ने गर्छ । त्यहाँ हिउँमा स्की गर्ने अवसर समेत मिल्ने त्यो ठाउँ जाडो मौसमको लागि उत्कृष्ट गन्तव्य हो । काठमाडौंबाट चरीकोटसम्म अरनिको यातायातमा बस चढेर जान सकिन्छ । चरीकोटबाट करीब एक घण्टाको हिँडाइपछि देउराली भञ्ज्याङ पुगिन्छ । त्यहाँबाट घना जंगलको बाटो हिँड्नुपर्छ । कुरीबजारमा कालिन्चोक डाँडा पुगिन्छ । मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँसम्म जान सकिन्छ । तर, बाटो निकै जोखिमपूर्ण छ । ढुंगा बिछ्याएको बाटो धेरै ठाडो छ । गाडीबाट पनि ३ घण्टा लाग्ने भएकाले यो ठाउँमा हिँडेरै जानुको बेग्लै मज्जा छ ।

दामन
मकवानपुरको दामन पनि हिउँ खेल्नको लागि महत्वपूर्ण गन्तव्य हो । काठमाडौंबाट धादिङको नौबिसे हुँदै जान सकिने यो गन्तव्य पुग्नको लागि आफ्नो निजी सवारी साधनमा सहज हुन्छ । यो ठाउँमा पनि वर्षेनि हजारौ मान्छे हिउँ खेल्न जाने गर्छन् ।

ककनी
नुवाकोटको ककनी पनि हिउँ खेल्न जाने उत्कृष्ट गन्तव्य हो । चिसो मौसममा काठमाडौंबाट नजिकको गन्तव्यमा रहेको यो क्षेत्र पुग्नको लागि निजी सवारी वा सार्वजनिक सवारीमा पनि जान सकिन्छ । यहाँ जानको लागि माछापोखरीबाट नागार्जुन हुँदै जाँदा सहज हुन्छ ।

 

Europass CV in Nepal