प्रहरीको हात भाँचिदिने व्यक्ति जम्मा चार हजार जरिवाना तिरेर छुटे

प्रहरीको हात भाँचिदिने व्यक्ति जम्मा चार हजार जरिवाना तिरेर छुटे

कास्की । मापसे गरेर प्रहरी कुट्ने व्यवसायी चार हजार धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीको इजलासबाट अटो व्यवसायी २५ वर्षीय सौरभ थापा सोमबार छुटेका हुन्।

मापसे परीक्षण गर्दा थापाले प्रहरीलाई अभद्र व्यवहार गर्नुको साथै हातसमेत भाँचिदिएको कास्कीका प्रवक्ता डीउसपी सुवास तिमिल्सिनाले जानकारी दिए। प्रहरीमाथि अभद्र व्यवहार गरेपछि ५ दिनअघि थापा पक्राउ परेका थिए।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएयसन (नाडा)का गण्डकी प्रदेश समितिका सदस्य सौरभका बुबा ध्रुव थापा नाडाका केन्द्रीय अध्यक्ष हुन्। ध्रुवका दाजु बिन्दुकुमार थापा गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रभावशाली सांसद हुन्।

Europass CV in Nepal

पूर्वमन्त्रीसमेत रहेका आफ्ना ठूलाबुबाको नामसमेत लिँदै भतिजा सौरभले यसअघि पनि पटक-पटक प्रहरी र अरु सर्वसाधारणलाई पनि अभद्र व्यवहार गर्दै आएको प्रहरी स्रोत बताउँछ।

पहिले पनि गर्थे हिट एण्ड रन 

गत पुस २२ गते एउटा गाडीले लेकसाइडमा अर्को गाडीलाई ठोक्यो । एक क्लबको पार्किङमा राखिएको गाडीलाई ठक्कर दिएपछि ठक्कर दिने गाडी त्यहाँबाट भाग्यो ।बिहिबारको रात घटनाबारे थाहा हुने वित्तिकै बैदाम प्रहरी घटनास्थल पुग्यो र गाडीको खोजि सुरु भयो । गाडीबारे सोधपुछ गर्दा प्रहरीलाई थाहा भयो, त्यो सौरभ थापाको गाडी थियो ।

सौरभ थापा अर्थात पोखराका ‘योङ्ग अन्टरप्रेन्यर’ । उनका बुवा हुन् अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापा । बुवाकै लगानिमा रहेको अटो व्यवसाय सौरभले हेरिरहेका छन् । सो घटना भएको रात प्रहरीले सौरभका साथिहरुलाई क्लबमा होहल्ला गरेको आरोपमा पक्राउ गर्यो ।

सौरभ भोलिपल्ट मात्रै समातिए । यतिबेला विन्दुकुमार थापा गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्री थिए । सौरभ, मन्त्री थापाका भतिज हुन् । पक्राउ परेको जानकारी पाएपछि प्रहरीलाई सौरभलाई छाड्न दवाव पुगेको हल्ला पनि प्रहरी वृत्तमा नभएको होइन । अहिले थापा प्रदेश सभा सदस्य छन् ।

पछि उनलाई प्रहरीले परिवारको जिम्मा लगाएर छोडेको बताएको थियो ।सो घटना घटेको २२ दिनपछि उनै सौरभले रामबजारमा अर्को काण्ड मच्चाएका छन् । २५ वर्षीय सौरभले गत बिहीबार रामबजारस्थित पेन्सन क्याम्पअघि चेकिङमा बसेका प्रहरीको हात भाँचिदिए । मदिराले मात्तिएर गाडी हुइँकाएका सौरभलाई प्रहरीले रोकेपछि गाडीको ढोकाले हुत्याइदिएका थिए । सो क्रममा प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाँचिएको हो ।

प्रहरीले उनलाई बिहीबार पक्राउ गरेर अभद्र मुद्धामा अनुसन्धान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सनाले जानकारी दिए । ‘प्रहरीको हात क्र्याक् भएको हो । बिहीबारको घटना हो । उहाँलाई ५ दिनको म्याद थप गरिएको छ’ उनले भने ।