नेकपा (माओवादी केन्द्र) ले शक्तिबहादुर बस्नेतलाई गृहमन्त्री बनाउनेगरि गृहकार्य थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलाबमोजिम लामिछाने सांसद र मन्त्री पदबाट मुक्त भएका छन् । लामिछाने पदमुक्त भएपछि अहिले सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालकै काँधमा छन् ।
लामिछानेले अदालतको आदेशबमोजिम नागरिकता पूनः प्राप्ति गरेका छन् । तर, प्रधानमन्त्री दाहाल भने कुनैपनि हालतमा रास्वपालाई गृहमन्त्रालय नदिने पक्षमा पुगेका छन् । उनले उक्त मन्त्रालय आफ्नै दलमा राख्न चाहेका छन् । हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नवनियुक्त सभापति लामिछानेसँगको भेटवार्तामा पनि दाहालले यस्तो अडान लिएका छन् ।
दाहालले गृहमन्त्रीमा पार्टीबाट उपमहासचिव वर्षमान पुनलाई अघि बढाउन चाहेका छन् । तर, पुनको स्वास्थ्यले साथ नदिएकाले उनले पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई नै अघि बढाउनसक्ने बुझिएको छ । बस्नेत दाहालको विश्वासपात्रको रुपमा चिनिन्छन् । रास्वपाले भने गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्रकारहरूले प्रश्न सोधे- गृहमन्त्री कसलाई बनाउनुहुन्छ? प्रधानमन्त्री दाहालले जवाफ दिए- बनेपछि थाहा पाउनुहुन्छ।प्रधानमन्त्री दाहालले यसबाहेक थप विषयमा कुराकानी गरेनन्। पत्रकारहरूले राष्ट्रपति निर्वाचनको मिति निर्वाचन आयोगले तोकिसकेको र तयारीबारे पनि सोधेका थिए।
माओवादीले गृहमन्त्री आफूहरूसँगै राख्ने अडान राखेको छ। तत्काल प्रधानमन्त्री दाहालले नै गृह मन्त्रालय आफैँले हेर्ने गरी राख्न लागेका छन्। माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा पार्टीमा आज छलफल नभएको दाबी गरे। उनले यो विषय सरकारको भएको र प्रधानमन्त्रीले नै टुंगो लगाउने प्रतिक्रिया दिए।
महराका अनुसार पार्टी संगठनकै विषयमा आज पदाधिकारी बैठकमा छलफल भयो। दुई दिन तयारी गरेर अब बुधबार स्थायी समिति बैठक गरिने उनले बताए। पदाधिकारी बैठक भने मंगलबार पनि बस्ने उनको भनाइ थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय दाबी गरिरहेको छ। सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री थिए तर नागरिकता मुद्दामा उनको सांसद पद बदर भएसँगै गत शुक्रबार उनले उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिएका थिए।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नेपाली नागरिकता पुन: कायम गरिसकेका छन् भने आइतबार नै उनी रास्वपाको सभापति भइसकेका छन्। प्रधानमन्त्री प्रचण्डलाई आइतबार बालुवाटारमा भेटेर उनले गृहमन्त्रीमा पुन: नियुक्ति गर्न अनुरोधसमेत गरेका थिए। तर प्रधानमन्त्री दाहालले लामिछानेलाई यसबारेमा ठोस जवाफ दिएका थिएनन्।