मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

लोकगायिका टीका पुनले एकल साँझ गर्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । लोकगायिका टीका पुनले आगामी माघ २१ गते एकल सांगीतिक साँझ आयोजना गर्ने भएकी छन् । दिउँसो २ बजे प्रज्ञा भवनमा हुने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथिको रुपमा उपस्थित हुने भएका छन् ।

यसबारे जानकारी दिन गायिका पुनले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरिन्, जहाँ लोकदोहोरी गायन क्षेत्रका कलाकार उपस्थित थिए । सांगीतिक करिअर २३ वर्ष पुगेको छेकोमा एकल साँझ गर्न लागेको पुनले बताइन् । ‘यस क्षेत्रमा अघि बढिरहँदा धेरै कुरा सिक्ने मौका पाएँ र दिक्क पनि लागेको छ,’ उनले भनिन् ।

एकल साँझ आयोजना गर्दा आफूलाई साथ र सहयोग मिल्ने आशा थियो तर त्यो पूरा नहुँदा दिक्क लागेको उनले बताइन् । ‘मैले सोचेकी थिएँ कि मैले एकल साँझ गर्छु भनेर प्रस्ताव मात्र गर्दा मलाई यो काममा धेरैले सहयोग गर्नुहुन्छ, साथ दिनुहुन्छ । तर यहाँ त हजुर भन्नुपर्ने, सबैलाई सम्मान गर्नुपर्ने रहेछ । दिक्क पनि लागेको छ तर हार खाएकी छैन,’ उनले भनिन् ।

उनले अगाडि भनिन्, ‘सुर्खेत जिल्लाबाट तीन महिनाकी नानी बोकेर काठमाडौंमा सपना पूरा गर्न आएकी हुँ । त्यो समयमा गीत-संगीतमा लाग्नु आफैंमा चुनौती थियो ।’ संगीत र संस्कृतिलाई बचाइराख्न आफूले एकल सांगीतिक साँझ गर्न लागेको पुनको भनाइ छ ।

उनले आफ्ना सिर्जनालाई बचाइराख्न र भोलि आउने पुस्तालाई चिनाउन एकल साँझको आयोजना गर्न लागेको बताइन् । ‘टीका पुन सांगीतिक साँझ’मा गायिका पुनलाई साथ दिंदै नारायण रायमाझी, खड्ग गर्बुजा, बीबी अनुरागी, मिलन लामा, राजु परियार, पशुपति शर्मा, रामजी खाँण, किरणबाबु पुन लगायतले पनि प्रस्तुति दिने आयोजक दर्पण संगीतालयले जनाएको छ ।

गायिका पुनका ‘लालुपाते फूल छैन रुख मात्रै’, ‘सलल बगेको भेरी नदी’, ‘क्षितिज पारी उनको बस्तीमा’, ‘म पूजा गर्छु मायाको’, ‘एबीसीडी’, ‘समाजको बन्धन’, ’छोरी पाए’, ‘यो मार्मिक सन्देश’, ‘जुनमा पनि दाग छ’, ‘तिम्रो दर्शन पाइनँ’, ‘पोखरा फेवाताल घुम्नलाई’, ‘म त जुनी जुनी’ लगायत गीत चर्चित छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।