चुनाव अगावै विभाजित कम्युनिस्ट पार्टी एक बनाउन चीन सक्रिय

चुनाव अगावै विभाजित कम्युनिस्ट पार्टी एक बनाउन चीन सक्रिय

काठमाडौं, १४ पौष । नेपालको राजनीतिमा चीन पुनः सक्रिय भएको छ । उसले विभाजित कम्युनिस्ट पार्टी भरसक एक बनाउने नसके चुनावी गठबन्धन निर्माणमा भूमिका खेलिरहेको छ ।

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा चीनले विशेष चासो लिएको छ । यही क्रममा चीनको सेन्जेनमा उपचाररत माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनको चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । महाधिवेशनको दौरान चीनमा माओवादी नेता पुनको भेटवार्ता अर्थपूर्ण मानिएको छ ।

सोमबार भएको भेटमा चिनियाँ उपमन्त्री झाओले वामपन्थी शक्तिबीच एकता र सहकार्य, चुनावमा तालमेललगायतका विषयमा चासो राखेको पुनले खुलाएका छन् । पुनले यसको सम्भावना रहेको जवाफ दिएको बुझिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शपछि पुनले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग हेर्ने उपप्रमुख समेत रहेका उपमन्त्री झाओसँग भेटेका थिए ।

Europass CV in Nepal

वर्षमान पुनकी पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि भेटमा सामेल थिइन् । पूर्वसभामुख र पूर्वमन्त्री तहका दुई माओवादी नेताले चिनियाँ उपमन्त्रीसँगको भेटमा वामपन्थी एकताको कुरा गर्नुपूर्व नै चीनले यसका लागि सक्रियता बढाउँदै आएको छ ।

नेकपा फुट्न नदिन चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी थिइन् । चीनबाट उच्च स्तरको टोली नै नेपाल आएर पहल गरेको थियो । तर, त्यो सफल हुन सकेन ।
नेकपा फुटेर तीन टुक्रा भएपनि तीनवटै घटकसँग चिनियाँ कम्युनिस्ट पार्टीले सम्पर्क स्थापित गर्दै आएको छ । पछिल्लो समय गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीसँग चिनियाँ कम्युनिस्ट पार्टीले सम्बन्ध स्थापित गरिसकेको छ । दुई पार्टीबीच भर्चुअल छलफल चल्दै आएको छ ।

चीनले वामपन्थी एकता वा चुनावी तालमेलको पहल गरिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चिसिएको सम्बन्धमा सुधार हुन थालेको छ । नेपाली काँग्रेसको महाधिवेशन उदघाटनमा ओली र प्रचण्ड एउटै मञ्चमा महिनौंपछि देखिए । उनीहरुले भलाकुसारी पनि गरे ।

माओवादी महाधिवेशन उदघाटनमा निम्तो गर्न प्रचण्डले ओलीसँग टेलिफोन वार्ता गरे । पछिल्लो समय दुई नेताबीच सम्बन्ध सुध्रदै गएको छ । दुवैलाई नजिक ल्याउन विभिन्न तरिकाले चिनियाँ पक्ष लागिरहेको बुझिएको छ ।

चीनले कम्युनिस्ट शक्तिलाई नै नेपाल मामलामा विश्वास गर्दै आएको छ । उनीहरुमार्फत् आफ्नो प्रभाव बलियो बनाउने रणनीति बनाइरहेको छ ।

अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विरोधमा कम्युनिस्ट पार्टीहरु खुलेकाले पनि चीन उत्साही देखिन्छ । प्रचण्डले महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अमेरिकाविरुद्ध आक्रामक तरिकाले प्रस्तुती गरेका छन् । उनले चीनको घुमाएर प्रशंशा गरेका छन् । अमेरिकाले भारतसँगको सम्बन्ध सुदृढ गरेर चीनलाई रोक्न खोजेको टिप्पणी गरेका छन् । यसबाट पनि चीन नेपालको कम्युनिस्ट शक्तिसँग बढी आशावादी देखिन्छ । उनीहरुलाई चुनावसम्म भरसक एक बनाउने नसके तालमेल गराएर लाने गरी चीन रणनीतिक रुपमा लागेको घटनाक्रमले पुष्टि गर्दै लगेको छ ।

 

Europass CV in Nepal