फरार सांसद चौधरी पक्राउ

फरार सांसद चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी पक्राउ परेका छन्।चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले बिहीबार दिउँसो २ बजेतिर बाँकेको कोहलपुरबाट पक्राउ गरेको प्रवक्ता डिआइजी पोषराज पोखरेलले जानकारी दिए।

‘आजै जिल्ला अदालत कैलाली बुझाउँदै छौं’, उनले भने।अरूण चौधरी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सांसद छन्। गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जिते।यसअघि पनि उनले दुई पटक निर्वाचन लडिसकेका थिए। ती दुबै चुनाव उनले हारेका थिए।

२०७४ मा भएको स्थानीय तह निर्वाचनमा मेयरका लागि उम्मेदवारी दिएका थिए। त्यतिबेला एमालेका महादेव बजगाईंले मेयरमा जितेका थिए।त्यही वर्ष भएको प्रदेश सभाको निर्वाचनमा पनि चौधरीले उम्मेदवारी दिए। त्यसमा पनि उनी पराजित भए।

Europass CV in Nepal

स्थानीय तह र प्रदेश सभामा पराजित भएका चौधरी यसपालि प्रतिनिधि सभा निर्वाचन लडे र निर्वाचित भए।९ वर्षसम्म फरार रहेको र पटक-पटक निर्वाचन लडेको भए पनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको थिएन।सांसद चौधरीलगायत तीन जना आगजनी मुद्दामा दोषी ठहर भएकाहरू हुन्।

अरूण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलाशले २०७० साल वैशाख ९ गते ६ महिना कैद सजाय तोकेको थियो। अदालतले ८ लाख १९ हजार ४२३ रुपैयाँ बिगो भराउन पनि आदेश दिएको थियो। आगजनी मुद्दा २०६५ साल भदौ ३ गतेको हो।

लु २ त २११ नम्बरको ट्याक्टर साजन चौधरीले चलाएर चिसापानीस्थित गोरांगा खोलामा ढुंगा लिन गएका थिए। त्यहाँबाट ढुंगा लोड गरी फर्किने क्रममा सांसद अरूण चौधरी लगायतले ट्याक्टर रोक्न लगाएर चालकमाथि कुटपिट तथा ट्याक्टरमा आगो समेत लगाएका थिए।

उक्त ट्याक्टर लम्कीचुहा नगरपालिकाका महादेव बजगाईंको थियो। जो २०७४ मेयर भएका थिए। उनकै जाहेरीले उनीहरूविरूद्ध मुद्दा दर्ता भई अदालतबाट आदेश भएको थियो।

उनले आफ्नो ट्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरेका थिए। अदालतले पनि उक्त बिगो असुल्न आदेश दिएको थियो।

यसरी आदेश भएर पनि लामो समयसम्म फरार सूचीमा रहेका सांसद चौधरीलगायतलाई प्रहरीले पक्राउ गरेको थिएन।

Europass CV in Nepal