काठमाडौँ । सत्ता गठबन्धनभित्र खटपट सुरु भएपछि कांग्रेस र माओवादीबीच अनौपचारिक संवाद सुरु भएको छ । राष्ट्रपति र गृह मन्त्रालयका विषयमा अविश्वास बढिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको स्थिरताका निम्ति कांग्रेससँग सहकार्य गर्ने विकल्पमा समेत छलफल थालेका छन् ।
प्रधानमन्त्री दाहालले बिहीबार पार्टीको आन्तरिक बैठकपछि सञ्चारकर्मीसँग सत्ता समीकरण नबदलिने बताए पनि एमाले अध्यक्ष केपी ओली शर्माको प्रस्तुति र सरकारमा सहभागी मन्त्रीहरूबाटै व्यक्त भइरहेका व्यवस्थाविरोधी अभिव्यक्तिले दाहाल गठबन्धनप्रति विश्वस्त हुन सकेका छैनन् । पुस १० मा गठबन्धनसँगै टुटेको विश्वासलाई जोड्न प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरूबीच संवाद चलिरहेको छ ।
सभापति शेरबहादुर देउवाले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसहितका नेतामार्फत दाहालसँग संवाद अघि बढाइरहेका छन् । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रमा राखेर संवाद चलिरहे पनि पछिल्लो पटक सत्ता समीकरणको निरन्तरतामा जोखिम बढेपछि दुई दलका नेताबीच सम्भावित विकल्पका विषयमा पनि छलफल हुने थालेका छन् ।
गृह मन्त्रालय नपाएको झोकमा एकातिर सत्ता गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिइरहेको छ भने अर्कातिर राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने माओवादीको प्रस्तावले एमाले असन्तुष्ट बनेको छ । यही मौकाको उपयोग गर्दै कांग्रेस नेताहरूले पुस १० मा भएको गल्ती सच्याउन चाहेका छन् । माओवादीलाई एमालेबाट अलग गराएर अध्यक्ष दाहाल नेतृत्वकै सरकारलाई निरन्तरता दिने गरी पुरानै गठबन्धन ब्युँताउने कसरत कांग्रेस नेताहरूले गरिरहेका छन् ।
‘पुस १० मा वार्तामा बस्नेहरूले उचित मूल्यांकन गरेर निर्णय लिन सकेनन्, नेताहरूलाई प्रचण्डजी अर्को गठबन्धनमा जाँदै जाँदैनन् भन्ने विश्वासमा परेर अडान राख्दा सबैथोक हातबाट फुस्कियो,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘अहिल्यै गठबन्धन के हुन्छ भन्ने ठेगान छैन । यत्तिको खटपट हुँदैमा दौडिएर जाने कुरा हुन्न तर गठबन्धन भत्किने भयो भने प्रचण्डलाई प्रधानमन्त्री मानेर कांग्रेस अघि बढ्छ ।’
प्रधानमन्त्री दाहाललाई अझै पनि पुस १० कै जस्तै स्थिति कांग्रेसभित्र उत्पन्न हुने हो कि भन्ने आशंका छ । पुस ८ सम्म दाहाललाई प्रधानमन्त्री स्वीकार्न तयार भएका कांग्रेस सभापति देउवाले त्यसपछि एकाएक प्रधानमन्त्रीको अडान लिएका थिए । ‘केही गरी प्रचण्ड नेतृत्वको सरकार अप्ठ्यारोमा पर्यो भने कांग्रेस आफैं संविधानको धारा ७३ (३) अन्तर्गत ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्न खोज्ने हो कि भन्ने आशंका छ, पुरानो गठबन्धनबाट प्रचण्डलाई प्रधानमन्त्री बन्न हिजो जुन शक्तिले रोकेको थियो, भोलि पनि त्यस्तै परिस्थिति बन्न सक्ने डर पनि छ,’ दाहालनिकट स्रोतले भन्यो, ‘राष्ट्रपति निर्वाचनसम्ममा यही गठबन्धन जान सक्छ । त्यसपछिको स्थिति एमालेको भूमिकाले निर्धारण गर्छ ।’
माओवादीले राख्दै आएको आशंकाप्रति संकेत गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सरकार अस्थिर बनाउने खेलमा कांग्रेस सहभागी नहुने बताए । ‘सरकारको स्थिरताका लागि हामीले सरकारलाई विश्वासको मत दिएका हौं,’ उनले भने, ‘विपक्षीलाई सरकारको नजिक आउन नदिने र सत्तारूढ दलबाटै सरकारको क्षयीकरण गर्दै प्रधानमन्त्रीलाई एक्लै बनाएर मध्यावधि निर्वाचनतिर मुलुकलाई लैजाने प्रयत्न नहोस् भन्ने हाम्रो चाहना हो । संविधानको धारा ७६ (३) अन्तर्गतको सरकार निर्माणको पर्खाइमा भएको भए सरकारलाई किन विश्वासको मत दिन्थ्यौं ?’
सत्ता सहयात्री दलकै भूमिकाले सरकार अल्पमतमा परेमा कांग्रेस नेताहरूले प्रधानमन्त्रीमा दाहाललाई नै निरन्तरता दिने बताइरहेका छन् । पछिल्लो पटकको संवादमा कांग्रेस नेताहरूले दाहालमा रहेको आशंका हटाउन खोजिरहेका छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री दाहालले वर्तमान समीकरणलाई निरन्तरता दिन्छन् कि पुरानै समीकरणमा फर्कने कोसिस गर्छन्, त्यसको आधारमा राजनीति कोर्स तय हुने बताए । ‘सत्ता गठबन्धनमा खटपट भएर सहयोग खोज्ने अवस्था आएमा कसरी अघि बढ्ने भन्नेबारेमा समग्र कोर्समा छलफल हुन्छ,’ उनले भने, ‘वैकल्पिक सोचअनुसार जान तयार हुनुभयो भने कांग्रेस पनि तयार छ । त्यसका लागि समझदारी बनाएर अघि बढ्न सकिन्छ ।’
अहिले कांग्रेसको मुख्य सरोकार राष्ट्रपतिमा रहेको महतले बताए । ‘सरकारलाई विश्वासको मत दिएका छौं, उहाँले पनि राष्ट्रपतिको निर्वाचनमा सहमति खोज्छु भन्दै आउनुभएको छ, सहमति खोज्छु भन्नुको अर्थ संविधानको रक्षाका लागि महत्त्व दिएको छु भन्ने आशय बुझ्न सकिन्छ, त्यसका लागि कांग्रेसको उम्मेदवार नै अहिलेको उपयुक्त विकल्प हो,’ उनले भने, ‘राष्ट्रपति निर्वाचनमा प्रचण्डजी कांग्रेसकै उम्मेदवारको पक्षमा उभिनुहुन्छ भन्ने आशा हाम्रो छ । त्यसरी उभिँदा एमालेले कस्तो प्रतिक्रिया जनाउँछ, त्यसको आधारमा धेरै कुरा तय हुनेछन् ।’
माओवादी नेताहरूले भने एमालेसँगको गठबन्धनमा रहन नसकिने निचोडमा पुगेमा मात्रै राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई साथ दिन सकिने बताउँदै आएका छन् । एमालेसँगको गठबन्धनलाई निरन्तरता दिने सोचका साथ अघि बढेमा राष्ट्रपतिमा एमाले र कांग्रेसबाट नभई कुनै स्वतन्त्र व्यक्तिमा पनि राष्ट्रिय सहमति हुन सक्ने दाहालनिकट एक नेताले बताए । दाहालको प्रस्ट संकेतबिना कांग्रेसले उम्मेदवारबारे निर्णय नलिने भएको छ ।
पार्टीबाट रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने पक्षमा देउवा छन् तर माओवादीले एमालेसँगको समीकरणलाई तल–माथि नपार्ने नीति लिएको अवस्थामा कुनै गैरदलीय व्यक्ति पनि आउन सक्ने चर्चा सुरु भएको छ ।
‘एमाले जसरी पनि कांग्रेसको उम्मेदवार रोक्न चाहन्छ, कांग्रेसले पनि एमालेको उम्मेदवार रोक्न चाहेको छ । यस्तो बेला दुवै पक्षलाई चित्त बुझाउन प्रचण्डले गैरदलीय व्यक्तिलाई अघि सार्न सक्ने सम्भावना पनि छ,’ स्रोतले भन्यो, ‘हाम्रो प्राथमिकता पार्टीको उम्मेदवारमा रहे पनि एमालेको राष्ट्रपति नहोस् भन्ने स्थितिमा विकल्प रोज्नुपर्ने अवस्था आउन सक्छ ।’