२१ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । शनिबार राति ८ बजे आकस्मिक रुपमा बैठक बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो । प्रधानमन्त्रीलाई दिएको २ दिनको समय सकिएपछि शनिबार बैठक बोलाएको हो ।
रास्वपाका मागबारे सबै पक्षसँग कुरा हुन्छ : प्रधानमन्त्री दाहाल
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सार्दै आएका विषयमा सबै पक्षसँग छलफल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने प्रधानमन्त्री दाहालको भनाइ थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार भएको स्थायी कमिटी बैठकपछि उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ समस्या समाधान हुन्छ ।’
गृह मन्त्रालय आफैले पाउनुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आएको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले निर्णय गरेपछि सो पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारीसमेत खोसिएको थियो ।
पुनः नागरिकता प्राप्त गरेलगत्तै लामिछानेले आफूलाई पुनः सोही पदमा पुनःस्थापित गरिदिन माग गर्दै आएका छन् । लामिछानेको मागमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमति जनाउँदै आएका छन् । यी विषयमा प्रधानमन्त्री दाहालले सबै पक्षसँग कुरा हुने बताएका हुन् ।
रास्वपाले शनिबारसम्म आफूलाई गृहमन्त्रालयको जिम्मेवारी दिन अल्टिमेटम दिएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रमा उक्त विषयमा छलफल गर्ने र आफ्नो कुरा राख्ने रास्वपा केन्द्रीय समिति र संसदीय दलको बिहीबारको संयुक्त बैठकले गरेको निर्णय हो । तर, यसबीचमा संयन्त्रको बैठकसम्म बसेको छैन ।