चितवन-२ रविको ठाउँमा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाने

चितवन-२ रविको ठाउँमा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाने

चितवन-२ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिने भएका छन्।उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद बदर भएपछि उक्त निर्वाचन क्षेत्रबाट आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै श्रेष्ठ आज निर्वाचन आयोग जान लागेका हुन्।

‘निर्वाचनका बेला रवि लामिछानेको नागरिकताबारे ५ वटा उजुरी परेको थियो। काठमाडौंमा २ वटा परेको थियो। त्यसको निर्णय गरिएन। निर्णय नगरिँदा हामी दुबै जनालाई अन्याय भयो,’ श्रेष्ठले भने, ‘त्यतिखेर निर्णय भएको भए रवि लामिछाने उम्मेदवार बन्नु हुने थिएन। उहाँ उपप्रधानमन्त्री भएको मान्छे ‘बेस लेभल’ मा जानुपर्‍यो। म पनि अन्यायमा परें। उहाँको उम्मेदवारीबारे पहिला नै किटान गरेको भए राष्ट्रको पैसा खर्च हुँदैन थियो। अहिले सबै साथीहरूले भोलिको अवस्थामा यस्तो अवस्था नहोस् भनेर निवेदन दिनुपर्छ भनेका कारणले निवेदन दिन लागेको हुँ।’

श्रेष्ठले आफू नजिर कायम गर्ने हिसाबले निर्वाचन आयोग पुग्न लागेको बताए।‘अहिलेसम्म यस्तो घटना भएको छैन। संविधानको पनि व्याख्या हुन जरूरी छ। जो अनागरिक छ। निर्वाचन उठ्न पाउँदैन। तर उठेको अवस्था भनेको विशेष परिस्थिति हो,’ श्रेष्ठले भने, ‘निर्णय गर्न आयोगले ढिलाइ गर्‍यो। अहिले रविजीको नागरिकतासहित प्रक्रिया नै रद्द भयो। त्यसैले नजिर कायम गरिदिँदा जीवनमा अरूलाई दु:ख नहोला भन्ने खातिर नजिरका लागि लड्न लागेको हो।’

Europass CV in Nepal

निर्वाचन आयोगले भने रिक्त भएको चितवन-२ मा उपनिर्वाचन गर्नुपर्ने बताउँदै आएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुनअनुसार उक्त क्षेत्रमा उपनिर्वाचन हुने बताए।

‘कानुनअनुसार आयोगले गर्ने भनेको अदालतको फैसलाअनुसार पद रिक्त भएको सूचना राजपत्रमा छाप्ने हो,’ थपलियाले भने, ‘त्यसपछि संसद सचिवालयबाट पद रिक्त भएको जानकारी आउँछ। रिक्त भएको जानकारी आएपछि उपनिर्वाचन गर्छौं। कानुन यत्ति हो।’

थपलियाले पद रिक्त भएको अवस्थामा अर्कोलाई दिनुपर्ने कुनै कानुन नभएको बताए। ‘अर्कोलाई दिनुपर्नेछ भन्ने कानुन छैन। समानुपातिकतर्फ हो भने कुनै पद रिक्त भए वा रद्द भए दलले अर्को नम्बरको मान्छे नियुक्त गर्न सक्छ। तर पहिलो हुने निर्वाचित हुने प्रणालीमा निर्वाचन सकिएपछि सकियो। दोस्रो, तेस्रो हुने भन्ने कानुन छैन। संसद चलिराखेको छ। व्याख्या गरिदिए हुन्छ।’

मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट लामिछाने ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए भने श्रेष्ठ १४ हजार ९ सय ८८ मत ल्याएर दोस्रो भएका थिए।