नयाँ दल दर्तासँगै रेशम चौधरीलाई एमालेमा प्रवेश गराउने प्रयास

नयाँ दल दर्तासँगै रेशम चौधरीलाई एमालेमा प्रवेश गराउने प्रयास

हाल डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीले अबको एक सातापछि आगामी पुस १८ गते नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी दर्ता गर्ने प्रक्रियामा छन् । २०७२ भदौ ७ र ८ गते कैलाली, टीकापुर घटनाको मुख्य जिम्मेवार ठहर्याइएका रेशम कर्तव्य ज्यान मुद्दामा जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएका छन् । त्यसैले, उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उनकै अध्यक्षतामा दल दर्ता गर्न पाउने कि नपाउने अन्योल भने कायमै छ ।

यदि दल दर्तासम्बन्धी ऐनले उनलाई अध्यक्ष बन्नबाट रोक लगाएमा आफ्नी श्रीमतीलाई दलको अध्यक्ष बनाउने गरी तयारी गरिरहेको उनीनिकट स्रोतले बताउँछ । रेशमसँगै कुनैबेला रेडियो कार्यक्रम सञ्चालक रहेकी उनकी श्रीमती रञ्जिता श्रेष्ठ अब राजनीतिमा आउने क्रममा छिन् । यही मंसिर १८ गते अनामनगरस्थित तमु बौद्ध सेवा समितिमा पार्टी दर्ताबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा रञ्जिताले नै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । र, रेशम चौधरीको तर्फबाट नयाँ दलको नेतृत्व लिन तयार रहेको उद्घोष गरेकी थिइन् ।

राज थारुको सक्रियता

Europass CV in Nepal

अहिले रेशम चौधरीको नयाँ दल दर्ताको सूचनाबारे सामाजिक सञ्जालमा सबैभन्दा बढी क्रियाशील देखिएका छन् रामाकान्त चौधरी भनिने राज थारु । जनता समाजवादी पार्टीको प्रदेश समिति सदस्य तथा सप्तरीको सहइन्चार्ज समेत रहेका राज थारुले रेशमको पार्टीलाई अघि बढाउन पुस ५ गते जसपाको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

राज थारु भन्छन्, ‘थरूहट स्थापित गर्न लेखीजीलाई साथ दिएँ, गच्छदारजीलाई साथ दिएँ । तर उहाँहरूको मिसन थरूहट थिएन । अब म माननीय रेशम चौधरीलाई साथ दिन्छु । अब एक मात्र अठोट मिसन थरूहट हो ।’

संविधानमा रहेका असन्तुष्टिहरू पूरा गर्न थारूको नेतृत्वमा राजनीतिक दल हुनु आवश्यक रहेको जिकिर गर्ने राज थारुको अभिव्यक्ति छ, ‘भारत विहारका आदिवासीहरूले झारखण्ड लिएरै छाडे, आन्द्रप्रदेशका अल्पसंख्यक तेलुगुभाषीहरूले तेलङ्गना लिएरै छाडे, अनि नेपालमा थरूहट लिन नसकिने हो र ?’

‘टीकापुर विद्रोहलाई सरकारले नजर अन्दाज नगरे हुन्छ, हामीसँग हजारौं रेशम जन्माउने ताकत छ,’ राज थारु अगाडी भन्छन्, ‘देउवा र ओलीको जी हजुरी गरेर पहिचान र अधिकार स्थापित हुन सक्दैन । रेशमको आगमनसँगै थरूहटमा कांग्रेस, एमाले बढारिनेछन् । रेशमलाई सत्तासँग साट्न दिन्नौं ।’

राज थारुले रेशमलाई सत्तासँग साट्न नदिने अभिव्यक्ति दिए पनि उनी आफू भने रेशमको ‘खुराफाती दिमाग’बाट नयाँ दल दर्ता हुनै लागेको पार्टीबाट ‘आउट’ भए आश्चर्य मानिने छैन । एमालेसम्बद्ध स्रोतका अनुसार रेशम चौधरी एमाले छिर्नलाई नयाँ दल दर्ता गर्न लागेका हुन् । उनलाई एमालेमा ल्याउन रणनीति बनाउने स्रोत भन्छ, रेशम एक्लै एमाले प्रवेश गरे उनको खासै भाउ हुनेछैन । तर कम्तीमा थरुहटका विभिन्न जिल्लामा संगठन विस्तार गरे कार्यकर्ता देखाएर उपर्युक्त पदको लागि ‘बार्गेनिङ’ गर्न सहज हुनेछ ।

परमादेशबाट प्रधानमन्त्री बन्ने क्रममा शेरबहादुर देउवाले पदभारकै क्रममा रेशमको केस अदालत प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने अभिव्यक्ति दिएका थिए । रेशम आफ्नो रिहाइमा देउवा सरकारबाट विश्वस्त छैनन् । त्यसैले, उनी एमालेबाटै आफ्नो रिहाइ सहज हुने ठान्छन् । र, एमाले छिर्ने दाउका लागि पार्टी दर्ता गर्दैछन् । पार्टी दर्ता गराउन प्रपञ्च मिलाउने स्रोतका अनुसार केपी ओलीले पनि रेशमलाई एमालेमा भित्र्याउन ‘ग्रीन सिग्नल’ दिइसकेका छन् । यसका लागि चाँडै हुने तीन तहको चुनाव अगावै रेशमले आफ्नो बलबुताबाट जनमत सिर्जना गर्नुपर्ने छ ।

त्यसो त रेशम संघीय सांसदको उम्मेदवार हुँदा उनका बाबु लालवीर चौधरी एमालेबाटै प्रदेश सभाको उम्मेदवार भएका थिए । तर उनी पराजित भए । थरुहट थारुवान आन्दोलनका संयोजक लक्ष्मण थारुले धेरै कार्यक्रममा रेशम एमाले नजिकका वकिल मात्रै आफ्नो मुद्दाको लागि खोज्ने गरेको खुलासा गर्दै आएका थिए ।

रेशम एमालेमा छिर्ने लेखीको दाबी

एमाले छाडेर आदिवासी जनजाति महासंघको अध्यक्ष भएकै बेला राजकुमार लेखीले आफ्नो अध्यक्षतामा नागरिक समाजवादी पार्टी गठन गरेका थिए । तर तिनले पार्टी चलाउने जाँगर गरेनन् । २०७४ बैशाख ५ गते लेखीले नागरिक समाजवादी पार्टीको बैठक काठमाडौंमा बोलाएका थिए ।

तर, बैठक समेत नबसाली राजेन्द्र महतोको सद्भावना पार्टीमा आफू नेतृत्वको पार्टीको एकीकरण भएको उद्घोष गरेका थिए । त्यसबेला पार्टीको महासचिव रहेका राज थारुले लेखी एक्लै सद्भावनामा गएको, उनलाई साधारण सदस्यबाट निकालिएको तथा आफूलाई पार्टीको संयोजक घोषणा गरेका थिए । सद्भावना, राजपा, जसपा, लोसपा हुँदै लेखी रिङ्दै फिर्दै पुनः विधान अधिवेशनका बेला एमाले फर्किएका छन् । र, रेशम पनि चाँडै एमाले फर्किने बताइरहेका छन् । जसरी राजकुमार लेखीले राज थारुलाई ‘युज एन्ड थ्रो’ गरे, अहिले रेशमले पनि त्यही रणनीति लिएको देखिन्छ ।

उता राज थारु रेशम एमाले छिर्नेमा विश्वास मान्दैनन् । ‘रेशम अहिले कुनै दलमा छिर्न चाहे जुनसुकै दलले स्वागत गर्छ । जसपामा पनि उनको स्थान घटेको छैन,’ राज थारुले रातोपाटीसँग भने,‘जसपाले स्पष्टरुपमा अबको ठूलो राजनीतिक शक्ति थारु समुदाय हो भनेर किटान गरेको छ ।

तर, थारु आन्दोलनलाई अघि बढाउनमा कहिल्यै क्लियर भएन । त्यसैले थारु नेतृत्वको राजनीतिक शक्ति चाहिन्छ भनेर नै रेशम अघि आउँदैछन् । कुनै दलमा छिरेर उनले धोखा दिने छैनन् ।’ राज थारु रेशमले कथम्कदाचित धोका दिए थारु नेतृत्वको राजनीतिक शक्ति कहिल्यै अघि नबढ्ने ठोकुवा गरे ।

रेशमको नयाँ पार्टीको चुनाव चिन्ह ढकिया छनौट गरिएको छ भने पार्टीको आधारभूमिका रुपमा थरूहट क्षेत्र रहने उल्लेख छ । यद्यपि यो पार्टी राष्ट्रिय सोचका साथ राष्ट्रिय पार्टीका रुपमा खोलिन लागेको दस्तावेजमा उल्लेख छ ।

तत्कालीन राजपाबाट कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरीले ३४ हजार ३ सय ४१ मत प्राप्त गरी संघीय सांसदमा विजयी भएका थिए । मधेसवादी दलले थारु समुदायलाई भोट बैंकका रुपमा मात्रै लिएको र आफूलाई देखाएर सत्ताको बार्गेनिङ मात्रै गरेको रेशमको आरोप छ । जसपा अहिले सरकारमै भए पनि आफ्नो मुद्दा फिर्ताको सवालमा मौन रहेकाले उनको चित्त दुखाइ छ । २ नम्बर प्रदेशलाई मात्रै आफ्नो थलो देखेपछि बाध्य भएर नयाँ दल दर्ता गर्नुपर्ने अवस्थामा आइपुगेको उनको भनाइ छ । साभार: रातोपाटी 

Europass CV in Nepal