काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कसैले खेदेर नडराउने भन्दै आउने चुनावमा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्नेगरी शक्ति आर्जन गर्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘कसैसँग नडराई यो पार्टी चलाउँछौं । आउने चुनावमा सरकार बनाउने गरी,उपप्रधान र गृह होइन प्रधानमन्त्री बन्ने गरी यो पार्टी अघि बढाउँछौ । १२ भाइ सम्पादकलाई यसले तनाव हुन्छ होला, अनि पासपोर्ट भन्छन् । तर म जेल गए पनि रास्वपा अघि बढ्छ । म मरे पनि बहुलाए पनि रास्वपा चल्छ ।’
सभापति लामिछानेले आफूलाई काम गर्ने मौका दिएकोमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिए । प्रचण्डले केही गर्ने अठोट राखेकाले आफूले साथ दिएको उनले बताए ।
प्रचण्डले भेटेरै समस्या समाधान गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेरै समस्या समाधान गर्ने बताएका छन् । रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रतिनिधि सभाबाट बाहिरिने क्रममा प्रचण्डले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन । भर्खरै सुनेँ । बिहान उहाँसँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन । सरकारबाट बाहिरिनेबारे छलफल भइरहेको छ भन्नुहुन्थ्यो ।’
उनले आफूले राष्ट्रिय सहमतिमा जोड दिएकाले बसेर समस्या हल गर्ने बताए । उनले भने, ‘फेरि हामी बसेर समस्या हल गर्नेतिर नै जान्छौं । मेरो कोसिस त राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्नेमा छु । उनले सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेहरुलाई केही असहज भएको बताए ।