मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भाग्यमा विश्वास त गर्दिनँ तर पनि ८२ करोड रुपैयाँको चिट्ठा जितें

Himali Patrika 1 मिनेट पढाइ

सिरहाको गोलबजार–१२ का रञ्जितकुमार पाल सात वर्षअघि एक रेमिट कम्पनीको प्रतिनिधि भएर कतार पुगेका थिए। उनी भाग्यमा ‘त्यति धेरै विश्वास’ गर्दैनन्। तर, ‘जितिहालिन्छ कि’ भनेर १५ महिनादेखि चिट्ठा किन्न थाले। उनले अन्ततः २३ मिलियन दिराम अर्थात् ८२ करोड रुपैयाँबराबरको चिट्ठा जितेको हो।

पाल अरब इमिरेट्स (यूएई)को आबुधाबीस्थित बिग टिकटको राफल ‘लक्की ड्र’अन्तर्गत २ सय ४८ औं विजेता बनेका हुन्। बिग टिकटका प्रतिनिधिबाट चिट्ठा परेको खबर सुनेर आफू निकै खुसी भएको पालले बताए। उनी कतारकै सनैयास्थित एक मनी एक्सचेन्जमा कार्यरत छन्।

‘म ड्युटीमा थिएँ। काम गर्दै बिग टिकटको प्रत्यक्ष प्रसारण हेरिरहेको थिएँ। त्यही बेला एक जना ग्राहक आए। म काममा व्यस्त भएँ’, उनले भने, ‘त्यही बेला मैले २३ मिलियन दिराम जितेछु। बिग टिकट कम्पनीले पनि फोन गरेछ। मैले त थाहा नै पाइनँ। पछि फेरि फोन आयो। साथीहरूले पनि सुनाए। हर्षको सीमा छैन।’

उनले २० जनासँग मिलेर संयुक्त रूपमा ‘लक्की ड्र’को २३२९३६ नम्बरको टिकट अनलाइनमार्फत जनवरी १६ मा खरिद गरेका थिए। उनका साथीमध्ये अलग–अलग कम्पनीमा काम गर्ने सात नेपाली अनि अन्य भारतीय र श्रीलंकाली छन्।

भाग्यमा त धेरै विश्वास गर्दिनँ। तापनि, जितिहालिन्छ कि भनेर १५ महिनादेखि लगभग लगातार बिग टिकट किन्ने गरेको थिएँ। साथीहरूसँग मिलेर पैसा उठाइ टिकट खरिद गरेका थियौं।
‘हामीले यसपटक तीनवटा टिकट किनेका थियौं। दुईवटा किन्दा एउटा फ्रीमा पायौं’, उनले भने, ‘जितेको पैसा सबै जना मिलेर बाँड्ने हो। पैसा कानुनी तवरले नेपाल नै पठाउने हो। अलिक पछि नेपालमै केही गर्ने योजना बनाउँछु। अहिले के गर्ने भनेर केही सोच्न सकिरहेको छैन।’

ठूलो धनराशिको चिट्ठा जिते पनि आफूले अहिले गरिरहेको कामलाई निरन्तरता दिने उनले बताए। उनका अनुसार एउटा टिकटको ५ सय दिराम पर्छ। ‘भाग्यमा त धेरै विश्वास गर्दिनँ। तापनि जितिहालिन्छ कि भनेर चिट्ठा किन्ने गरेको छु’, उनले भने, ‘१५ महिनादेखि लगभग लगातार बिग टिकट किन्ने गरेको थिएँ। १५– २० जना साथीसँग मिली पैसा उठाएर टिकट खरिद गर्ने गरेका थियौं।’

घरमा उनका बुवा, आमासहित १० र पाँच वर्षका २ छोरा छन्। परिवारका सदस्य सबै जना दंग रहेको उनले सुनाए। अहिले नै घर फर्कने योजना नबनाएको उनको भनाइ छ। ‘पहिले पैसा हातमा आओस अनि बिस्तारै योजना बनाउनुपर्ला’, पालले भने, ‘अरू एक–दुई वर्ष कतारमै बस्छु।’

बिग टिकट यूएईको अबुधाबीमा मासिक रूपमा खोलिने चिट्ठा हो। जहाँ हरेक महिनाको ३ तारिखमा विद्युतीय माध्यमबाट विजेता छनोट गरी घोषणा गरिन्छ। यसअघि पनि दुबईमा खोलिने महजुज चिट्ठामा गुल्मीका भरत बिकले १० मिलियन दिराम अर्थात् ३५ करोड रुपैयाँ जितेका थिए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।