काठमाडौं । बर्दियामा बीमाको रकम दाबी गर्ने मनसायले चालकले नै गाडीमा आगजनी गरेको खुलेको छ । गाडीमा आगो लगाएको आरोपमा प्रहरीले बर्दियाको मधुवन नगरपालिका-२ गंगापटुवाका रामु चौधरीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराका अनुसार आइतबार राति २ बजे मधुबन नगरपालिका-०४ बसन्तास्थितमा लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
गाडीमा आगजनी भएको खबर पाएर पुगेको इलाका प्रहरी कार्यालय ढोढरीको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा चालक चौधरीले आफैंले आगजनी गरेको स्वीकार गरेका थिए ।उनले गाडी बिग्रिएको र मर्मतको लागि ग्यारेजमा लैजाँदा धेरै रकम लाग्ने भनेपछि बीमा दाबी गर्ने मनसायले आगजनी गरेको बताएका डीएसपी बोहराले जानकारी दिए ।
माघ २९ गते साँझ ८ बजे अर्को जिपले तानेर रामुले उक्त गाडीलाई चालकले जंगल क्षेत्रमा पर्ने बसन्ता पुर्याएका थिए । त्यसपछि चालकले डिजल छर्केर आगजनी गरेका हुन् ।