पर्सा । ३० वर्षअघि बन्द वीरगन्जस्थित कृषि औजार कारखानामा अहिले रौनक फर्किएको छ । राष्ट्रिय आविष्कार केन्द्रले कारखानामा कृषि औजारको परीक्षण उत्पादन गर्न थालेपछि लामो समयदेखि बन्द कारखानाले नयाँ जीवन पाएको छ । बेल्चाको सफल परीक्षण उत्पादन गरिसकेको केन्द्रको वैज्ञानिक टोलीले अब कुटो, कोदालो, गैंटीलगायत कृषि औजार उत्पादन गर्न लागिपरेको छ ।
केही दिनमै अरू औजारको पनि परीक्षण उत्पादन गरिने केन्द्रका मेकानिकल इन्जिनियर प्रज्ज्वल कोजुले बताए । उद्योग सञ्चालनका लागि दुई/दुई वटा मिलिङ र लेथ मेसिन, चार वटा डाई प्रेसर, दुई वटा आयल फर्नेस, एउटा कोइला फर्नेस र दुई वटा ह्यामर सञ्चालन गरिएको उनको भनाइ छ । तत्काललाई यी उपकरणबाट केही कृषि औजार उत्पादन गर्न सकिने र क्रमशः कारखानामा रहेका अन्य उपकरण पनि सञ्चालन गर्दै जाने लक्ष्य रहेको उनले बताए । उद्योगमा साना–ठूला गरी करिब पाँच दर्जन उपकरण छन् ।
कारखानाका उपकरण तीन दशकदेखि बन्द रहेकाले तिनलाई पुनः सञ्चालक गर्न समय लाग्ने उनले बताए । ‘कतिपय उपकरण हाम्रो जन्मभन्दा अघिका छन्,’ कोजुले भने, ‘कतिपय पुराना उपकरण अन्य मुलुकमा प्रयोगमै छैनन् ।
तर हामीले पुरानै उपकरणलाई पनि पुनः प्रयोग गर्न लायक बनाएका छौं ।’ हाल केन्द्रका ४ मेकानिकल इन्जिनियर तथा स्वयंसेवक गरी ११ जनाको टोली यहाँ कार्यरत छ । हाल कारखानामा विद्युत् आपूर्ति नै कम रहेकाले एकसाथ सबै उपकरणको परीक्षणमा समस्या भएको स्वयंसेवकमध्येका एक अम रोक्काले जनाए ।
‘विद्युत् आपूर्ति कम रहेकाले एकसाथ सबै उपकरण परीक्षण सम्भव छैन,’ उनले भने, ‘पालैपालो परीक्षण गरिरहेका छौं ।’ हाल केन्द्रको टोलीले दोस्रो चरणमा यहाँ आएर काम गरिरहेको रोक्काले बताए । पुराना उपकरणबाट कृषि औजारको सफल उत्पादन गरेपछि यो टोलीले तत्काललाई काम रोक्ने उनको भनाइ छ ।
त्यसपछि सरकारले कारखाना सञ्चालनका लागि रकम निकासा गरेपछि उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना रहेको उनले जनाए । निवर्तमान अर्थमन्त्री जर्नादन शर्माले उद्योग सञ्चालनका लागि ५० देखि ६० करोड रुपैयाँ निकासा गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म केन्द्रले एक रुपैयाँ पनि सरकारबाट नपाएको रोक्काको दाबी छ ।
पहिलो चरणमा २५ करोड रुपैयाँ प्राप्त भए त्यसबाट तत्काल उद्योग सञ्चालन गर्न सम्भव रहेको उनले बताए । सुरुको १० वर्ष केन्द्र आफैंले कारखाना सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण गर्नेछ । मुनाफाको आधा–आधा हिस्सा केन्द्र र सरकारले लिनेछन् । केन्द्रले प्राप्त गर्ने हिस्साबाट कारखाना परिसरमै एउटा छुट्टै अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना पनि छ । तत्कालीन राजा महेन्द्रले ०२४ फागुन २८ मा सोभियत संघ सरकारले उपहारस्वरूप निर्माण गरिदिएको उद्योग उद्घाटन गरेका थिए ।
पूर्ण क्षमतामा सञ्चालनमा आउँदा उद्योगमा २ सय १० स्थायी र १ सय ११ अस्थायीसमेत गरी करिब ३ सय २५ जनशक्ति कार्यरत थिए । उद्योग बन्द भएपछि सबै कर्मचारी–मजदुरले उपदान लिएर बिदा भए पनि तत्कालीन क्यासियर रामसेवक महतोले भने अझै उपदान लिन बाँकी रहेको बताइएको छ । ९ बिघा ११ कट्ठा क्षेत्रफलमा फैलिएको कृषि औजार कारखाना तथा यसका अन्य भौतिक पूर्वाधारको रेखदेख तथा संरक्षण ६ जना व्यक्तिले गर्दै आएका छन् ।
उद्योग रुग्ण हुँदै गएपछि तत्कालीन सरकारले ०५३ जेठ १७ मा उक्त उद्योग निजीकरण गर्ने निर्णय लिएको थियो । १३ करोड रुपैयाँमा निजीकरणमा लैजान खोज्दा ९ करोड ५१ लाख रुपैयाँ बराबर ६५ प्रतिशत स्वामित्व निजी क्षेत्रले पाउने र बाँकी ३५ प्रतिशत स्वामित्व नेपाल सरकार आफैंले राख्ने निर्णय भएको थियो ।
पाटनका रेशमलाल वैद्य, बनेपाका जोगीलाल ताम्राकार र हेटौंडाका उदयमोहन श्रेष्ठले साझेदारीमा यस उद्योगको ६५ प्रतिशत स्वामित्व किनेका थिए । तर एक पटक उद्योग बन्द भएपछि पुनः सञ्चालनमा आउनै सकेन । कारखानाले हँसिया, खुर्पी, कुटो, कोदालो मात्र नभई विद्युत् प्राधिकरणका लागि बिजुलीका पोल, तत्कालीन यातायात संस्थानका लागि ट्यांकर, तत्कालीन शाही नेपाल वायुसेवा निगमका लागि जहाज चढ्ने सिँढी, यात्रुको सामान ओसार्ने ट्रली पनि उत्पादन गरेको थियो ।