काठमाडौं । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । २५ प्रतिशत शरीरको भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।
गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अस्पतालकी मेडिकल डाइरेक्टर निजिमा ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । उनका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ ।
आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको तुलाधर बताउँछिन् । उनले अनलाइनखबरसँग भनिन्, ‘माननीय ज्यूको २५ देखि ३० प्रतिशत गहिरो जलन छ । बन्द कोठामा भएकोले धुवाँ फोक्सोमा गएको छ । यो रिस्क फ्याक्टर हो ।’
आफूहरुले एयर–वे म्यानेज लगायतका काम गरेर उपचार गरिरहेको जानकारी दिंदै उनले भारतमा लगेर उपचार गर्न सिफारिस गरेको जानकारी दिइन् । ‘उहाँलाई गाह्रो भएकाले इण्डियातिर उपचार गर्न सल्लाह पनि दिएको छ,’ मेडिकल डाइरेक्टर ताम्राकारले भनिन्, ‘यति डिप वर्न नेपालमा अलि सहज छैन ।’
यसरी जले सांसद भण्डारी र आमा
काठमाडौंको बुद्धनगरस्थित सांसद चन्द्र भण्डारीको घरमा ग्याँस लिग भएर एक्कासी आगलागी भएपछि अहिले भण्डारीसहित उनकी ८६ वर्षीया आमा किर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन् ।
बुधबार राति ९ : ३० बजेको समयमा भण्डारीलाई कांग्रेस नेता एनपी साउदले घरमा ल्याएर छोडिदिए । प्रहरीका अनुसार त्यतिन्जेलसम्म घरको अवस्था ठिकै थियो । १० बजेपछिको समयमा आमा भान्छामा गइन् ग्याँस खोलिन् । पहिलानै ग्याँस लिग भएर कोठामा भरिएको रहेछ ।
आगोको झिल्को भेटेपछि नियमित तरिकाले बल्नुपर्ने ग्याँस एक्कासी अनियन्त्रत भएर बल्यो र भण्डारीकी वृद्ध आमामाथि बल्न थाल्यो । सँगै घरमा झ्यालका सिसा फुट्न थाले । आमाको यस्तो अवस्था देखेपछि भण्डारी आमाको उद्धारमा लागे ।उनलाई पनि आगाेले पोल्न थाल्यो । माथिल्लो तलामा बस्ने सांसद भण्डारीका भाइबुहारी र छिमेकीले आमालाई उद्धार गरेर अस्पताल पुर्याए ।