मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 20 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

यस कारण ग्यास लिक भएको शंका लागे उक्त कोठाको बिजुली स्विच अन-अफ गर्न हुन्दैन

Himali Patrika 1 मिनेट पढाइ

ग्यास सिलिन्डर लिक हुँदा भएको आगलागीमा परी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ।बुधबार राति बुद्धनगरस्थित घरमा भएको उक्त घटनामा परी सांसद भण्डारी पनि घाइते भएका छन्।

उनको शरीरको ३० प्रतिशत भाग जलेको छ। कीर्तिपुरको बर्न अस्पतालमा उपचार हुन नसकेपछि भण्डारीलाई भारतको मुम्बई लैजान लागिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार घटना बुधबार राति सवा १० बजे भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले राति सुरूमा किचेनमा ग्यास लिक भएको हरिकलाले थाहा पाएको र छोरा चन्द्रलाई यसबारे जानकारी गराएको देखिएको छ।‘अहिले हामीले सबै कुराहरू बुझिसकेका छैनौं। राति ग्यास लिक भएको थियो। किचनभित्र ग्यास गन्हाएपछि आमाले माननीयज्यूलाई भन्नुभएछ,’ उनले भने,‘उहाँ (चन्द्र भण्डारी) कहाँ के गन्हाएको हो भनेर हेर्न जानुभएछ।’

किचनमा पुगेर सांसद भण्डारीले बिजुली बत्ती बाल्‍दा एक्‍कासी आगोको झिल्का आएर आगलागी भएको हुन सक्ने एसपी रिजालले बताए।‘बत्ती बाल्न खोज्दा स्पार्क निस्केर एक्कासी आगो लागेको भन्ने बुझिएको छ,’ उनले भने।

जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुख तथा अग्नि नियन्त्रक किशोरकुमार भट्टराईले पनि यो घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएजस्तै कारण हुन सक्ने बताए।ग्यास लिक भएर कोठा भरिँदा बिजुली बत्ती बाल्न हुन्छ कि हुन्न भन्ने जनचेतना नभएकाले यस्ता आगलागी हुने गरेको भट्टराईले बताए।

‘धेरै मानिसलाई त ग्यास भरिएको कोठामा बिजुली बत्ती बाल्दा स्पार्क भएर आगलागी हुन्छ भन्ने नै थाहा छैन,’ भट्टराईले भने,‘कतिलाई चाहिँ बत्ती बाल्नु हुँदैन भन्ने थाहा छ तर त्यस्तो अवस्था बत्ती निभाउनु पनि हुँदैन भन्ने थाहा छैन।’

कुनै कोठामा ग्यास भरिँदा त्यो हावासँगै ग्यास बिजुलीको स्विचभित्र पसिसकेको हुन्छ। स्विच अन वा अफ गर्दा निस्कने स्पार्क (झिल्को) ले हामीले ग्यास जलाउँदा बाल्ने लाइटरले झैं काम गर्छ।

‘हामीले ग्यास खोलेर लाइटर खट्याक्क गरेर बाल्छौं नि, हो त्यसै गरी स्विच अन/अफ गर्दा पनि स्पार्क निस्किन्छ,’ भट्टराईले भने,‘त्यसपछि आगो लागिहाल्छ। कोठामा भएको मान्छे ढलिहाल्छ।’

ग्यास लिक भएको शंका लागेको कोठामा जाँदा बिजुली बत्तीको स्विच छुनै नहुने भट्टराई बताउँछन्।‘बत्ती बलेको छ भने बल्न दिनुपर्छ, बन्द छ भने खोल्नुहुन्न। बरू कोठाका झ्याल-ढोका खोलेर ग्यासलाई बाहिर जान दिनुपर्छ,’ भट्टराईले भने।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।