प्रधानमन्त्री दाहाललाई भेट्न रवि लामिछाने पुगे बालुवाटार

प्रधानमन्त्री दाहाललाई भेट्न रवि लामिछाने पुगे बालुवाटार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्। बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन्।

उनीहरुबीच समसामयिक राजनीति र राष्ट्रपति निर्वाचनबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। माओवादीले गृहमन्त्री आफूले राख्न चाहेपछि लामिछाने र प्रचण्डबीच पछिल्लो समयमा खटपट रहेको छ।

उपप्रधान तथा गृहमन्त्री बनेका लामिछानेलाई सर्वोच्च अदालतले नेपाली नागरिकता विवादमा दोषी ठहर गरिदिएपछि उनको सांसद पद खारेज भएको थियो। तर उनले प्रक्रिया पुर्‍याएर पुन: नागरिकताको प्रतिलिपि लिएपछि लामिछानेले गृहमन्त्री दाबी गरेपनि प्रधामन्त्री प्रचण्डले उनलाई नियुक्त गर्न चाहेनन्। गृह मन्त्रालयका लागि लामिछाने आफैंले पनि पटक-पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिएका थिए।

Europass CV in Nepal

प्रधानमन्त्री प्रचण्डले लामिछानेको मुद्दा टुंगो नलागेसम्म धैर्यता गर्नुपर्ने र राष्ट्रपति निर्वाचनका विषयमा पनि राष्ट्रिय सहमति गर्नुपर्ने बताउँदै आएका छन्। रास्वपाले भने गृहमन्त्रीमा आफ्नो दावी कायम राखे पनि नपाएपछि रास्वपाले आफ्ना मन्त्रीसमेत फिर्ता गरेको छ। तर सत्ता साझेदार दलको बैठकमा सहभागी भइरहेको छ। रवि लामिछानेको सांसद पद खारेज भएपछि उक्त निर्वाचन क्षेत्रमा बैशाख १० गते निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ।