काठमाडौँ । नेपालले स्कटल्यान्डविरुद्ध विश्वकप लिग-२ को खेल जित्न २ सय ७५ रनको लक्ष्य पाएको छ । नेपालले त्रिवि क्रिकेट मैदानमा टस जितेपछि ब्याटिङका लागि बोलाएको स्कटल्यान्डले माइकल लिस्कले अविजित १ सय ७ रन बनाएपछि निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ७४ रन बनायो ।
लिस्कले ७९ बलमै शतक पूरा गरेका थिए । यो उनको पहिलो शतक पनि हो । उनले कुल ८५ बल खेली ३ चौका र ९ छक्का प्रहार गरे । उनले सो क्रममा ६५ रन बनाउदा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका थिए ।लिस्कले मार्क वाटसँग आठौं विकेटमा ७६ रन जोडेका थिए । वाटलाई अन्तिम ओभरमा आसिफ शेखले २० रनमा रनआउट गरे । उनले ३१ बल खेल्दै १ चौका प्रहार गरे ।
त्यस्तै ज्याक जार्भिसले ३८ बलमा १ चौका र १ छक्कासहित २६, ब्रान्डन म्याकमुलेनले २२, क्रिस ग्रेभ्सले १६ रन बनाए । म्याथ्यु क्रस २ रनमै आउट भए । २५ ओभरभित्र १ सय ११ रन बनाउँदा नेपालले ६ विकेट लिइसके पनि स्कटल्यान्ड त्यसपछि झन आक्रामक खेलेको थियो ।
खेलमा नेपाली स्पिनर हावी भए । कुशल मल्लले दुवै ओपनर क्रिस्टोफर म्याकब्रिज (२२) र कप्तान रिची बेरिङटन (१९) लाई आउट गरी नेपाललाई सानदार सुरुआत दिलाएका थिए । त्यसमा सन्दीप लामिछानेले ३ विकेट लिए । उनले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
त्रिकोणात्मक शृंखलामा नेपाल र स्कटल्यान्ड दुवैको यो दोस्रो खेल हो । कुशल भुर्तेलको शतक र कप्तान रोहित पौडेलको ७२ रनमा नेपालले मंगलबार नामिबियामाथि २ विकेटको विजय हात पारेको थियो ।
स्कटल्यान्डसँगको खेलमा नेपालले ललित राजवंशीको स्थानमा गुलशन झालाई खेलाएको छ । ललितले नामिबियाविरुद्ध कुनै विकेट लिन सकेका थिएनन् । करण केसी, सोमपाल कामीपछि नेपाली टोलीमा तेस्रो फास्ट बलरको रुपमा खेलेका अलरान्डर गुलशनले २ ओभरमा १८ रन खर्चे । करणले ९ ओभरमा १ मेडन राख्दै ६८ रन खर्चन पुगे । सोमपालले ९ ओभरमा ५२ रन खर्चेर इनिङ्सको अन्तिम बलमा १ विकेट लिए ।
स्कटल्यान्डले बुधबार पहिलो खेलमा नामिबियामाथि १० विकेटको विजय हात पारेको थियो । जर्ज मुन्सीले ६१ बलमा १ सय ३ र कायल कोएटजरले ४६ रन बनाएका थिए । तर यी दुवै ओपनरलाई स्कटल्यान्डले नेपालविरुद्ध खेलाएको छैन । उनीहरुको स्थान ज्याक जार्भिस र टम म्याकेन्टसले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दैछन् । नामिबियाविरुद्ध ३ विकेट लिएका प्रमुख बलर सफ्यान सरिफलाई पनि स्कटल्यान्डले खेलाएको छैन ।
नामिबियामाथि विजय हात पारी स्कटल्यान्डले विश्वकप लिग-२ को उपाधि जितिसकेको छ । नेपाल २५ खेलमा २० अंक जोडि सात राष्ट्र सहभागी लिग २ को अंक तालिकामा छैटौं स्थानमा छ । नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन ११ मध्येको ७ खेल खेल्नु पर्नेछ ।