काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलभित्र रहेका ९ वटा पसललाई कारबाहीस्वरुप जरिवाना गरेको छ । उपभोक्ता खुद्रा मूल्य भन्दा बढी रकम असुल गरेको कसुरमा ती व्यवसायिक फर्मलाई बिहीबार कारबाही गरिएको विभागले जनाएको छ ।
विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार अन्तर्राष्ट्रिय टर्मिनल तर्फ एयरर्पोट टी कफी एण्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, एबीपी मार्ट प्रालि, ओम नवदुर्गा इन्टरप्राइजेज प्रालिलाई जरिवाना गरिएको छ । त्यस्तै, आन्तरिक टर्मिनल तर्फ न्यू कन्फेक्सनरी स्टोर, एयरर्पोर्ट टी कफी कन्फेक्सनरी सप, होटल स्वनिङ (कफी एण्ड कन्फेक्सनरी), पीडी इन्टरप्राइजेज प्रालि तथा होटल स्वनिङलाई जरिवाना गरिएको हो ।
‘कसुरको मात्रा अनुसार ९ पसललाई कुल १५ लाख जरिवाना गरेका छौं,’ प्रवक्ता भट्टराईले भने, ‘ती फर्महरुलाई उपभोक्ता हित संरक्षण प्रतिकूल हुनेगरी कुनै काम नगर्न समेत निर्देशन दिएका छौं ।’ विभागले उपभोक्तालाई पनि सामानकाे मूल्य, परिणामसहितको बिल बिजक लिएर मात्रै खरिद गर्न आग्रह गरेको छ ।



