काठमाडौं । अष्ट्रेलियामा हालै एउटा अनौठो घटना भएको छ । एउटा कुनै कार्यक्रममा गएका केही अभिभावकहरु त्यसबेला अचम्ममा परे जब उनीहरुका बच्चाहरुको अनुहार मिल्दोजुल्दो देखियो ।
ती अभिभावकहरु वास्तवमा अपरिचित थिए र उनीहरुको बीचमा कुनै सम्बन्ध पनि थिएन । तर अपरिचित र असम्बन्धित हुँदाहुँदै पनि आफूहरुका बच्चाहरुको अनुहार मिलेको देख्दा उनीहरुलाई एकसाथ आश्चर्य र आशंकाले छोप्यो । त्यसपछि उनीहरुले जब यस विषयमा खोजतलास गर्न थाले तब निकै अनौठो तथा धोकाधडीपूर्ण तथ्यको खुलासा भयो ।
वास्तवमा उनीहरुका बच्चाहरुको अनुहार एक आपसमा मिल्नु कुनै संयोग थिएन । त्यो एकजना शुक्रकिटदाताले उनीहरुसँग गरेको धोकाधडीको परिणाम थियो ।छानविनको क्रममा उक्त शुक्रकिटदाताले विभिन्न चारथरी फरक फरक नामहरु राखेर धोकापूर्ण तरिकाले ती अभिभावकहरुलाई वीर्यदान गरको खुलासा भयो ।
द मिररमा प्रकाशित समाचार अनुसार शुक्रकिटदाताले समलिंगी समुदायका सदस्यहरुलाई शुक्रकिट दान गर्नका लागि विभिन्न चारवटा फरक फरक नामको प्रयोग गरेको रहेछ । आइभिएफ प्रविधिबाट सन्तान प्राप्त गर्न चाहने माता पितालाई उसले गैरकानूनी रुपमा शुक्रकिट दान गरेको र त्यसबाट ६० वटा भन्दा धेरै बच्चा जन्मिएको तथ्यले सबैलाई झसंग बनायो ।
यसबीचमा एक कार्यक्रमका क्रममा जब केही अभिभावकहरु जम्मा भएका थिए उनीहरुले आफ्ना बच्चाहरुको अनुहार मिल्दोजुल्दो भएको महसूस गरे । त्यस विषयमा कुराकानी तथा छानविन हुँदा उनीहरु सबैका बच्चा एउटै वीर्यदाताको शुक्रकिटबाट जन्मिएको तथ्यको खुलासा हुँदा उनीहरु छाँगाबाट खसेझैँ भए । उक्त खुलासा पश्चात् अभिभावकहरुले स्थानीय आइभिएफ क्लिनिकहरुमा फोन गर्न सुरु गरे र शुक्रकिट दाताको खोजीमा लागे ।
सिड्नीस्थित फर्टिलिटी फस्र्ट नामक क्लिनिककी डाक्टर ऐनी क्लार्कका अनुसार उनको क्लिनिकले एक पटकमा केवल एउटा मात्रै दाताको शुक्रकिटको प्रयोग गर्दछ ।तथापि उक्त दाताले फेसबुक ग्रुपजस्ता अनौपचारिक तरिकाबाट समेत शुक्रकिट दान गरेको र हालसम्म सो दाताको पहिचान नखुलाइएको बताइएको छ । स्मरण रहोस् अष्ट्रेलियामा शुक्रकिट दानमा गरिने धोकाधडी पूर्ण रुपमा गैरकानूनी हो । यस्तो खालको अपराध गर्नेलाई १५ वर्षसम्मको जेल सजायँ हुनसक्ने प्रावधान छ ।
यति हुँदाहुँदै पनि त्यहाँ अनौपचारिक तरिकाले शुक्रकिट दान गरी दाता पुरुषहरुले पैसा कमाउने गरेको पाइएको छ । उनीहरुले अनलाइन प्लाटफर्मका माध्यमबाट निसन्तान दम्पत्तिहरुसँग सम्पर्क गर्दछन् र शुक्रकिट दान गर्ने प्रस्ताव राख्दछन् ।