हनुमानढोका क्षेत्रभित्रको मल्लकालीन शिलालेख तोडफोड

हनुमानढोका क्षेत्रभित्रको मल्लकालीन शिलालेख तोडफोड

१६ पुस, काठमाडौं । अज्ञात समूहले हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख तोडफोड गरेको छ । बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

उनका अनुसार सो अभिलेख राजा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको हो । अभिलेख तोडफोड भएको जानकारी पछि त्यसका सबै टुक्राहरु संकलन गरेर हेरचाह अड्डामा सुरक्षित राखिएको खनालले जानकारी दिए ।

अभिलेख तोडफोडको बारेमा महानगरीय प्रहरी वृत्त हनुमानढोका र पुरातत्व विभागलाई जानकारी गराइसकिएको हेरचाह अड्डाले जनाएको छ । हेरचाह अड्डाले सो अभिलेखको टुक्रालाई जोडेर पहिलेकै अवस्थामा ल्याउनको लागि विज्ञहरुसँग छलफल गरिरहेको जनाएको छ ।

Europass CV in Nepal

हनुमानढोकामा विवादै विवाद

ललितपुरका व्यापारी कृष्णलाल महर्जनले हनुमानढोका दरबार क्षेत्रमा बनाएको महर्जन कम्प्लेक्स अनुमति पाएको भन्दा ७ फिट अग्लो छ । उनलाई प्रत्येक तला ७.७ फिटभन्दा अग्लो नबनाउन निर्देशन दिइएको भए पनि काठमाडौं उपत्यका विकास प्राधिकरण र कामपाका इञ्जिनियरहरूको प्रतिवेदनले सो घरका सबै तला १०.७ फिटभन्दा अग्लो रहेको देखाएको छ ।

सो भवनको बेसमेन्ट ढुकुटीघरबाट नजिकै रहेकोले महर्जन कम्प्लेक्सको बेसमेन्टबाट ढुकुटीघरको सुरक्षामा समेत जोखिम बढाएकोले आफूहरू विरोधमा उभिएको सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ बताउँछन् ।

त्यो भवन निर्माणको क्रममा काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरू पनि विवादमा तानिए । सम्पदा क्षेत्रमा पुरातत्व विभागले तयार पारेको मापदण्ड लागू गर्नुपर्नेमा महानगरपालिकाले महर्जन कम्प्लेक्सको उँचाइ बराबर हुने गरी नयाँ मापदण्ड बनाएको थियो । अभियन्ताहरूले चर्काे विरोध गरेपछि महानगरपालिका यो निर्णयबाट अहिले पछि हटेको छ ।

यो विवादमा युनेस्कोको नेपाल कार्यालय पनि मुछियो । कार्यालयले अभियन्ता र निर्माण कम्पनीलाई पठाएको पत्रमा सो भवन विश्वसम्पदा क्षेत्र भित्र नपर्ने उल्लेख गरेपछि पुरातत्व विभागले उसलाई गल्ती सच्याउन पत्र लेखेको थियो । पहिले सो संरचना मापदण्ड विपरीत रहेको ठहर गर्दै पत्र लेखेको युनेस्कोले एक महीनामा नै आफ्नो धारणा बदलेपछि पुरातत्व एवं अभियन्ताहरू आक्रोशित भएका थिए । पछि त्यो भवनको उँचाइ बढाउन नदिने गरी विवाद साम्य पारियो ।

मल्लकालीन एवं राणाकालीन दरबारहरूसँगै रहेको सो घरले अहिलेसम्म पनि सम्पदा क्षेत्रलाई कुरुप र असुरक्षित बनाएको अभियन्ता गणपतिलाल श्रेष्ठ बताउँछन् । उनले मुख्य रूपमा त्यो घरले ढुकुटी घरको सुरक्षा खतरामा पारेको, नागदहको पानी सुकाएको एवं कुमारीको मन्दिर नासेको बताए ।

हनुमानढोकाको कुमारी घरसँगै स्थानीय विद्या शाक्यको चार तलाको आधुनिक शैलीको घर छ । उनको घरसँगै जोडिएको उमेशदेव पन्तको साढे दुई तलाको र जुजुरत्न शाक्यको चार तलाको घर छ । पुरातत्व विभागले ४ भदौ २०७८ मा उमेशदेव पन्त समेत तीनै जनाको नाममा स्वीकृत नक्शा विपरीत घर निर्माण भइरहेको भनेर मापदण्डको सीमामा रहन पत्र काटेको थियो ।

कुमारी रेखदेखको जिम्मेवारीमा रहेका इन्द्रजात्रा व्यवस्थापन समितिका प्रमुख गौतमरत्न शाक्य सो घरले कुमारी घरको सुरक्षा र संवेदनशीलतामा गम्भीर असर पारेको बताउँछन् । शाक्यका अनुसार सँगै रहेको ४२ फिट अग्लो सो घरबाट कुमारी घरभित्रको सबै गतिविधि देख्न सकिने भएकोले त्यो आपत्तिजनक छ । उनले यसमा वडा कार्यालयले स्वीकृति दिएर घर बनिरहेको भन्दै महानगरपालिकाका मेयरलाई समेत उजुरी गर्दा पनि सुनुवाइ नभएको बताए ।

काठमाडौं महानगरपालिका वडा नं २३ का वडाध्यक्ष मचाराजा महर्जन भवनको निर्माण अवधिभर पुरातत्व विभाग र स्थानीय कसैले पनि केही नभनेको भन्दै अब भवन भत्काउन कठिन भएको बताउँछन् । निजी घरका लागि नक्शा पास गरेपछि वडाको भूमिका नहुने र नगरप्रहरीसँग पनि बनिसकेको घर भत्काउने अधिकार नरहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘यहाँ काम बिग्रिएपछि अर्कालाई दोष लगाउने चलन छ । पुरातत्व विभागको हेरचाह अड्डा यहीं छ, यहीं स्थानीय बस्छन्, तर निर्माण चलुन्जेल कसैले खबर गरेनन् । उतिबेलै खबर गरेको भए रोक्न पनि सकिन्थ्यो । तर निर्माण सकिएपछि घरधनीलाई कसरी भत्काउन आदेश दिने ? यो व्यावहारिक भएन ।’

कुमारी घर विश्वसम्पदामा सूचीकृत संरचना हो । यसको सुरक्षामा जोखिम हुँदा युनेस्कोले खतराको सूचीमा राख्ने जोखिम बढ्ने बताउँछन् पुरातत्व विभागका पूर्व प्रशासक नेपाल । कोरोना महामारीको बीचमा ठडिएका संरचनालाई नक्शा पास गर्ने र यसलाई हटाउन पहल नगर्नाले यो काममा स्थानीय जनप्रतिनिधिको मिलेमतो रहेको पुष्टि हुने स्थानीयको आरोप छ ।

त्यसो त भवन उद्घाटन भएकै दिन कुमारी निकाल्ने विषयमा विवाद भएको थियो । घरको चौथो तलामा ‘लाखे’ लेखिएको रेस्टुरेन्ट यही वर्षको इन्द्रजात्राको दिन सञ्चालनमा ल्याइएको थियो । कुमारीलाई सीधा मूलगेटबाट ननिकाली विद्या शाक्यको घरतर्फको ढोकाबाट निकाल्ने परम्परा छ । तर कुमारी र लाखे एकैठाउँमा रहन नसक्ने मान्यता रहेको भन्दै कुमारी निकाल्न विलम्ब भयो । पछि रेस्टुराँको लाखे नाम हटाएर यस वर्षको इन्द्रजात्रा त सकियो तर सो घरले सम्पदालाई कुरुप बनाउँछ भनेर चलेको विवाद भने अहिले पनि सकिएको छैन ।

Europass CV in Nepal