एमसीसी हल्ला गरेर होइन, सल्लाह गरेर पास गरौंः कांग्रेस नेता

एमसीसी हल्ला गरेर होइन, सल्लाह गरेर पास गरौंः कांग्रेस नेता

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले एमसीसीमा अनावश्यक हल्ला भएको टिप्पणी गर्दै दलहरूबीचको सल्लाहमा पास गर्नु उचित हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने, “कुनै पनि कुरालाई हेर्ने आआफ्नो दृष्टिकोण हुन्छ । दुई जना व्यक्ति एक ठाउँमा नारिँदा नकारात्मक दृष्टि राख्नेले लाप्पा खेलेको देख्छ भने सकारात्मक सोच राख्नेले अँगालो मारेको देख्छ ।

सन् २०१३ देखि सही गर्दै आएको सम्झौतामा अहिले आएर अनावश्यक हल्ला गर्नु अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक मर्यादा र छवि बिगार्ने कुरा हो । देशी-विदेशीको दबाब भए अर्कै कुरा हो, एमसीसीलाई पैसासँग जोडेर होइन, नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्व हेरेर पास गर्नुपर्छ ।”

अमेरिकाको कानुन नेपालले पास गर्नुपर्ने भन्ने कुरा हाउगुजी मात्र भएको उनको टिप्पणी छ । उनले भने, “कुनै पनि देशको कानुन अर्को देशले पास गर्ने कुरा बेकारको हल्ला हो । त्यसो भए त अमेरिकी साम्राज्यवाद होइन, नेपाली साम्राज्यवाद हुन जान्छ । एमसीसीए प्रोजेक्टको प्रमुख अर्थसचिव हुन्छन्, कार्यकारी निर्देशक विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङ हुन्छन् । यो कसरी राष्ट्रिय हितविपरीत हुन्छ ? त्यसैले एमसीसी हल्ला होइन, सल्लाह गरेर पास गरौं ।

Europass CV in Nepal

अर्को प्रसंगमा नेता विश्वकर्माले कांग्रेस सभापति शेरबहादुर देउवाले पुरानो अनुभवका आधारमा पार्टीलाई गति दिनुपर्ने औंल्याए । उनले भने, हामीसँग पुरानै कार्यक्रम पनि थाती छन् । अब पार्टीलाई संविधानतः रुपान्तरण गर्दै अघि बढ्नुपर्छ । अघिल्लो पटक पार्टीमा विवाद हुन दिन्नँ, सर्वसम्मत ढंगले निर्णय गर्छु भन्दा विभाग, समिति समयमै गठन हुन सकेनन् । महासमिति बैठक समयमै हुन सकेनन् ।

विगतको तीतो अनुभव आत्मसात् गर्दै पार्टीका प्रतिनिधिले तपाईं काम गर्नुहोस्, बहुमत दिनुभएको छ । जे मन लाग्छ, त्यही नगर्नुस् भनेर सन्तुलन पनि मिलाउनुभएको छ । विगतमा जे जे कुरा गर्न सकेनौं, गर्न मिलेन, गर्न जानेनौं, त्यसलाई सच्चाएर अगाडि बढ्नुपर्छ ।”

उनले अघिल्लो आम निर्वाचनमा मतका हिसाबले नेपाली कांग्रेस पहिलो पार्टी भएको जिकिर गरे । उनले भने, “अघिल्लो आम निर्वाचनमा मतका हिसाबले नेपाली कांग्रेस पहिलो पार्टी हो । वाम गठबन्धनका कारण दोस्रो बनेको मात्र हो । १ करोड मतमध्ये नेपाली कांग्रेसले ३५ लाख पाएको छ । संसद्मा सिटका हिसाबले ठूलो पार्टी बनेको एमालेले ३० लाख र माओवादीले १४ लाख पाएको छ । दुइटा दलको गठबन्धन भएकाले नेकपाको ४४ लाख पुगेको हो हो । अब १५ लाख मत थपेर हामी ५० लाख पुर्याउँछौं ।”

अब कांग्रेसलाई पहिलो, ठूलो र बहुमतको पार्टी बनाउनुपर्ने उनले औंल्याए । उनले भने, “अहिले पनि नेपाली राजनीतिको मियो नेपाली कांग्रेस नै हो । हामी सबै तहमा बहुमत पुर्याएर अधिकांश ठाउँमा सरकार बनाउँछौं । हामी छलांग मार्ने होइन, बिस्तारै बिस्तारै अघि बढ्ने कुरामा विश्वास गछौं । विगत ३० वर्षमा ४९ प्रतिशतको गरिबीलाई १९ प्रतिशतमा झारेका छौं । यो रातारात हुने कुरा होइन ।”

केपी ओलीलाई आफैंले दुईदुई पटक विघटन गरेको संसद्मा कसरी बोल्ने भन्ने परेकाले सानो सानो छिद्र खोजेर अवरोध गरिरहेको आरोप पनि लगाए । उनले भने, “प्रधानमन्त्रीले पटक पटक संवाद गर्न खोज्नुभएको हो । आफ्ना विश्वासपात्रलाई निवासमा पठाउनुभएको पनि हो । तर संसद्लाई बन्धक बनाइरहनुभएको छ । नजिकै निर्वाचन आउँदै छ । जनताले कुन दलको के भूमिका थियो भनेर मूल्यांकन गर्छन् । त्यो कुरालाई बुझेर एमालेले निर्णय गर्ने आशा गरौं ।”

 

Europass CV in Nepal