दाङमा अहिले १३ औं पटक हात्तीपाहिले रोग विरुद्धको औषधि खुवाईदै छ। रोल्पा रुकुमको तुलनामा शिक्षित मानिसहरुको बस्तिको रुपमा हेरिने दाङ जिल्ला नै औषधि सेवनमा देशकै सबै भन्दा असफल जिल्लाको सुचिमा पर्दछ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार ६ वर्ष सम्म लगातार औषधी खाएमा हात्तीपाइले नियन्त्रणमा आउँछ । तर दाङमा भने १२ वर्षसम्म औषधी खुवाउँदा पनि यो रोग नियन्त्रणमा आउन सकेको छैन । औषधीबारे रहेका भ्रमका कारण लक्षित समूहले अपेक्षा गरे अनुसार औषधी नखाइदिँदा चुनौती देखिएको हो । यस पटक भने स्वास्थ्यकर्मी, जनप्रतिनिधि र हात्तीपाइलेका बिरामीहरूसमेत यस विरुद्धको औषधी खुवाउने अभियानमा जुटका छन् ।
१४ वर्षदेखि हात्तीपाइले रोगबाट पीडित घोराही उपमहानगरपालिका-२ सुर्केडाँगीका ३४ वर्षे ऋषिराम चौधरीलाई हिँडडुल गर्न गाह्रो छ । दुवै खट्टा सुन्निएकाले उनी काम गर्न सक्दैनन् । तर हात्तीपाइलेविरुद्धको औषधी खुवाउने अभियानमा उनी सक्रियतापूर्वक खटिएका छन् ।
ऋषिको जस्तै लक्षण भएका ४ सय १४ र अण्डकोष सुन्निएका १६ सय २१ गरी दाङमा हात्तीपाइलेका २ हजार ३५ जना बिरामी छन् । सन् २००१ को एउटा सर्वेक्षणमा दाङमा २९ प्रतिसतमा हात्तीपाइलेको सङ्क्रमण भेटिएको थियो । लगातार औषधी खुवाउँदा घटेर ४ प्रतिशतमा त ओर्लिएको छ तर निवारणका लागि २ दशमलव ५ प्रतिशतमा झर्नुपर्छ ।
यस पटक दाङमा ६ सय स्वास्थ्यकर्मी र सम्बन्धित पालिकाका जनप्रतिनिधि परिचालन गरी अभियान प्रभावकारी बनाएको दाबी स्वास्थ्य कार्यालयले गरेको छ । औषधीबारे अफवाह फैलिएका कारण सबैलाई औषधी खुवाउन कठिनाइ छ । तर औषधीमा कुनै पनि खराबी नभएकाले लक्षित समूहका सबैले औषधी सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ ।
हात्तीपाइले प्रभावित देशका १५ मध्ये लुम्बिनी प्रदेशका दाङ, बाँके र कपिलवस्तु जिल्ला जोखिममा छन् । सन २००० मा गरिएको विश्व स्वास्थ्य सङ्गठनको सर्वेक्षणले विश्वका ७२ देशका १२ करोड सङ्क्रमितमध्ये ४ करोड मानिस अङ्गभङ्ग भएको देखाएको थियो । २१ देशले उन्मूलन गरिसकेको हात्तीपाइले रोग निवारण नेपालमा भने चुनौतीपूर्ण देखिएको छ । सन २०३० मा विश्वबाटै हटाउने लक्ष्य भेटाउन सबैले औषधी सेवन गर्नु र लामखुट्टेको टोकाइबाट बच्नु बुद्धिमानी हुनेछ ।