काठमाडौँ । उच्च अदालत पोखराले कलाकार पूर्णविक्रम शाह (पल शाह)विरुद्ध अभियोगमा दाबी नपुग्ने फैसला गरेको छ । जबर्जस्ती करणी अभियोगमा शाहलाई सफाइ दिने फैसला गरेको हो ।
उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहविरुद्धको जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो । यो आदेशसँगै शाह थुनामुक्त हुने भएका छन् ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने अनलाइनखबरलाई जानकारी दिए ।पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।