राष्ट्रपति निर्वाचनबारे छलफल रास्वपाको बैठक सुरु

राष्ट्रपति निर्वाचनबारे छलफल रास्वपाको बैठक सुरु

काठमाडौं । आसन्न राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारा जारी छ ।राष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा रास्वपाले आज निर्णय लिने सो पार्टीका नेताहरुले बताएका छन् ।

साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्नेबारे पनि बैठकले निर्णय गर्ने बताइएको छ । सभापति रवि लामिछानेको नागरिकता विवादपछि उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्री पदबाट मुक्त भएका थिए । त्यसलगत्तै रास्वपा सरकारबाट फिर्ता भएको थियो । तर सरकारलाई दिएको समर्थन अहिलेसम्म कायम छ ।

एमाले सचिवालय बैठक सुरु
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेको लगायत विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।

Europass CV in Nepal

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने जानकारी दिए ।

नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग हुनेछ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने बताएका थिए । आइतबार परराष्ट्रमन्त्री पौड्याललाई अन्तिम समयमा जेनेभा जान रोक लगाइएपछि एमाले सरकारबाट बाहिरिनुपर्ने आवाज पुनः उठेको छ ।एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारमा रहने कि नरहने भन्ने विषयमा आजको बैठकमा छलफल हुनसक्ने बताइन् ।