नेपाली फिल्मकर्मीबीच एकता र साथ-सहयोगको भावनाको चर्को खडेरी छ । एकअर्कालाई पर्दा काँध थाप्न कोही अगाडि सर्दैनन् । न त एकअर्काको अस्तित्व नै स्वीकार गर्न तयार हुन्छन् । बरु, कसरी हुन्छ खोजी-खोजी कमी-कमजोरी निकालेर आलोचना वा टिप्पणी गर्न अगाडि सर्छन् । झन् एकै मितिमा एकभन्दा बढी फिल्म रिलिज हुने भयो भने त पानी बाराबारकै स्थिति सृजना हुन्छ ।
तर, भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेका दुई ठूला फिल्म ‘छड्के २’ र ‘छक्का पञ्जा ४’का प्रमुख कलाकारद्वय अनमोल केसी र दीपकराज गिरीले बिहीबार साँझ आ-आफ्नो सामाजिक सञ्जालमा दुवै फिल्मको पोस्टर शेयर गरेर एकअर्कालाई दिएको शुभकामनाले नेपाली फिल्मकर्मीबीच भाइचारा र एकताको भावना जीवितै छ भन्ने सन्देश प्रवाह गरेको छ । यो राम्रो संस्कार हो ।
अनमोलले लेखेका छन्, ‘सानैदेखि मेरो यो मान्यता छ कि, नेपाली फिल्मी क्षेत्र भनेको हामी नेपालीको एउटा शान र पहिचान हो । र, यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व हो । साथै, भोलिदेखि तपाईंहरु समक्ष प्रदर्शनमा आइरहेका दुई चलचित्रहरू ‘छड्के २’ र आदरणीय दाई-दिदीको ‘छक्का पञ्जा ४’लाई म मेनडग र हाम्रो टिम ‘छड्के २’को तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु ।’
त्यस्तै, दीपकराज दुई फिल्मको भिडन्तको विषयलाई लिएर लेख्छन्, ‘धेरैले किन जुधेको भनेर पनि सोधे । यो साँढे होइन जुध्नलाई । यो फुटबल खेल पनि होइन, एउटा टिम हार्ने र अर्को जित्ने । यहाँ दुवै टिमले जित्न सक्छ । प्यारो अनमोल भतिजलगायत सम्पूर्ण ‘छड्के’ टिमलाई शुभकामना ।’ फरक विषयका ‘छड्के २’ र ‘छक्का पञ्जा ४’को भिडन्त यस वर्षकै सबैभन्दा ठूलो मानिएको छ ।