टिकटकको घोषणा : अब १८ वर्षभन्दा कम उमेरकाले १ घण्टा मात्र चलाउन पाइने

टिकटकको घोषणा : अब १८ वर्षभन्दा कम उमेरकाले १ घण्टा मात्र चलाउन पाइने

काठमाडौँ । १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले अब दिनको ६० मिनेट मात्रै टिकटक चलाउन मिल्ने व्यवस्था ल्याउन लागिएको छ । टिकटकले बुधबार गरेको घोषणाअनुसार आगामी सातादेखि नाबालिगका लागि दैनिक १ घण्टाको स्क्रिन टाइम तोकिनेछ । बस्टन बाल अस्पतालको डिजिटल वेलनेस ल्याबका अनुसन्धानकर्ता र विज्ञहरूसँगको छलफलपछि ६० मिनेटको थ्रेसहोल्ड लागू गर्ने निधो भएको टिकटकले जनाएको छ ।

बालबालिकाकालाई अनुपयुक्त्त सामग्री पनि सामाजिक सञ्जालहरूमा छताछुल्ल देखिने गरेको र त्यसले बाल मनोविज्ञानमा असर गर्नुका साथै बालबालिका असुरक्षित भएको गुनासो बढिरहेका बेला टिकटकले समय सीमासम्बन्धी नयाँ नियम ल्याउन लागेको हो । कतिपय देशमा पछिल्लो समय टिकटकमाथि प्रतिबन्ध लगाउन थालिएको छ । यसको अल्गोरिदमले जानाजान कतिपय सामग्री बालबालिकासम्म पुर्‍याइरहेको र एपको सुरक्षा क्षमतामा प्रश्न गर्दै यसको प्रयोगमा रोक लगाउन थालिएको छ ।

६० मिनेटको समयसीमा सकिएपछि टिकटक बन्द हुने र पुन: चलाउन चाहे पासकोड हाल्नुपर्नेछ । १३ वर्षभन्दा माथि र १८ भन्दा कम उमेरका प्रयोगकर्तालाई यसरी ‘एक्टिभ डिसिजन’ गर्न दिए पनि १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले अभिभावकको अनुमतिमा मात्रै थप ३० मिनेट टिकटक चलाउन पाउने व्यवस्था गरिन लागेको कम्पनीको ट्रस्ट एन्ड सेफ्टी विभाग प्रमुख कर्माक किननले एक ब्लग पोस्टमा लेखेका छन् ।

Europass CV in Nepal

कम्पनीको यो निर्णय सन् २०२१ मा चीनमा लागू गरिएको गेमिङ रुलसँग मिल्दोजुल्दो भएको याहु न्युजले जनाएको छ । बच्चाबच्चीहरूले धेरै अनलाइन गेम खेले भनेर चीन सरकारले दिनको एक घण्टा वा शुक्रबार र बिदाको दिन मात्रै गेम खेल्न पाउने आदेश जारी गरेको थियो ।

गत वर्ष सार्वजनिक भएको एक रिपोर्टमा टिकटकको अल्गोरिदमले कतिपय बालबालिका र किशोरकिशोरीलाई लक्षित गरेर सेल्फ हार्म (आफैंलाई दु:ख दिने) र इटिङ डिस्अर्डरसम्बन्धी भिडियो पुर्‍याउने गरेको उल्लेख थियो । मेटा कम्पनीको इन्स्टाग्राममाथि पनि यही किसिमको आरोप लगाइएको छ । दैनिक ६० मिनेटको स्कृन टाइमलाई डिफल्ट बनाउन आग्रह गर्दै आफूहरूले किशोरकिशोरीलाई साप्ताहिक रूपमा म्यासेज नोटिफिकेसन पठाउने टिकटकको भनाइ छ ।