हामीलाई राजाको भद्दा नक्कल गर्ने राष्ट्रपति चाहिएको होइन : गगन थापा

हामीलाई राजाको भद्दा नक्कल गर्ने राष्ट्रपति चाहिएको होइन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशले अहिले राजाको भद्दा नक्कल गर्ने राष्ट्रपति नचाहेको बताएका छन् । उनले राष्ट्रपति संविधानले दिएको जिम्मेवारी पूरा गर्ने संविधानको पालक र संरक्षक भएको बताए ।

काठमाडौंको बानेश्वरमा शुक्रबार आठ दलीय गठबन्धनका बागमती प्रदेशका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले राष्ट्रपतिले संविधानले दिएको परिधिबाहिर आउन खोज्दा कस्तो क्षति हुन्छ भनेर बितेको पाँच वर्षमा पर्याप्त अनुभूति गर्न पाएको बताए ।

उनले कुनै दलको निर्णय, निर्देशन र राजनीतिमा चासो राख्ने व्यक्तिले राष्ट्राध्यक्षको भुमिका निभाउन नसक्ने बताए । ‘हामीले चौथो राष्ट्रपति चुन्न लागेका छौँ, अहिले हामीलाई कुनै पनि गल्ती गर्ने छुट छैन । हामीले राष्ट्रपति संस्थालाई कस्तो बनायौँ भन्ने प्रश्न पनि उठ्छ । वास्तवमा हामीले राजाको भद्दा नक्कल गर्ने राष्ट्रपति बनाउन चाहेको होइन, अहिले हाम्रो राष्ट्रपति हिड्नुहुन्नँ, उहाँको सवारी चल्छ । उहाँ खाना खानुहुन्न, भुजा ज्युनार गरिसिन्छ,’ थापाले भने, ‘हामीले जनताको राष्ट्रपति खोजेको हो । राष्ट्रपति भनेको पावर हो, तर त्यो पावर जनताका समस्या समाधान गरेर देखाउने हो, सडकमा होइन ।’

Europass CV in Nepal

उनले अब बन्ने राष्ट्रपतिले संविधानले दिएको जिम्मेवारी पूरा गरेर समाज रुपान्तरणमा योगदान गर्नुपर्ने बताए । ‘राष्ट्रपति राष्ट्राध्यक्ष हो, राष्ट्रिय एकताको प्रवर्द्धक हो । संविधानको पालक र संरक्षक हो । संविधानको संरक्षण गर्ने कुरा बरु सजिलो छ, तर संविधानको पालना गराउने कुरा त्यति सजिलो छैन,’ थापाले भने, ‘हामी कहाँ राष्ट्रपति सेरेमोनियल पद हो भन्ने चलन छ । तर वास्तवमा त्यो पनि होइन । हाम्रो राष्ट्रपति त संवैधानिक राष्ट्रपति हो । राष्ट्रपतिको संवैधानिक जिम्मेवारी छ, दायरा छ ।’

महामन्त्री थापाले संविधानमै राष्ट्रपतिले कुनै पनि गल्ती गर्दैन भन्ने सिद्धान्त रहेको बताए । ‘संवैधानिक राष्ट्रपति भएकाले संविधानले नै हाम्रो राष्ट्रपतिलाई केही महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ । हिजो हामीले ‘राजाले केही गल्ती गर्दैनन् भनेजस्तै अहिले राष्ट्रपतिले पनि गल्ती गर्दैनन् भन्ने सिद्धान्त अपनाइएको छ,’ उनले भने, ‘किनभने राष्ट्रपतिले कुनै पनि काम आफैँ गर्दैन, राष्ट्रपतिले कुनै पनि काम मनमौजी ढंगले गर्न मिल्दैन । राष्ट्रपतिले गर्ने हरेक काममा मन्त्रिपरिषद्को सम्मति हुनुपर्छ ।’

उनले राष्ट्रपति कुनै एउटा दलको कार्यकर्ता नहुने बताए । ‘राष्ट्रपतिको उम्मेदवार हाम्रो पार्टीको कार्यकर्ता हो । अहिले हामी आठ दलले समर्थन गरेर उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाएका छौँ । तर, उहाँले राष्ट्रपतिमा निर्वाचित भएपछि आठ दलको काम गर्ने होइन,’ थापाले अघि भने, ‘उहाँले देशको अभिभावक भएर काम गर्ने हो । संविधानले दिएको जिम्मेवारी निभाउने हो ।’