मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

माओबादीसंग २०८४ साल सम्म सहकार्य गर्ने एमालेलाई गगन थापाको जवाफ

Himali Patrika 1 मिनेट पढाइ

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको तत्काल सम्भवना नरहेको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भवन परिसरमा कांग्रेस–एमाले मिल्न सक्ने आशय व्यक्त गरेको सन्दर्भमा कांग्रेस महामन्त्री थापाले २०८४ सालसम्म त्यो सम्भव नभएको बताएका हुन् ।

राष्ट्रपति निर्वाचनमा भोट हाल्न गएका ओलीले पत्रकारहरुले कांग्रेस–एमाले मिलेर सरकार बनाउने सम्भावनाबारे जिज्ञासा राखेका थिए । सो क्रममा ओलीले कांग्रेससँग सहकार्य नगर्ने भनेर कसम नखाएको बताएका थिए । उनले भनेका थिए, ‘राजनीतिमा केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।’

संसद भवन परिसरमै पत्रकारहरुले महामन्त्री थापालाई पनि ओलीको अभिव्यक्ति अनुसार कांग्रेस–एमाले मिल्नसक्ने सम्भावनाबारे जिज्ञासा राखे । जवाफमा थापाले भने, ‘२०८४ मा त्यो सम्भावना हुनसक्छ । हामी बालकोट आउँछौं । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं ।’

यसपटक भने त्यो सम्भावना नभएको थापाले बताए । एमालेले धेरैपटक धेरैलाई झुक्याएको भन्दै थापाले भने, ‘सबैलाई एकपटक झुक्याउन सकिन्छ तर सबैलाई पटक–पटक झुक्याउन सकिंदैन ।’

एमालेबाट झुक्याइएकाहरुको अनुभव साटासाट गरेर कांग्रेस, माओवादी केन्द्र लगायत दलले सरकारमा साझेदारी गरेको थापाको भनाइ छ । ‘फेरि झुक्याउन सक्छु भनेर हामीलाई यति धेरै अवमूल्यन नगरिदिन हार्दिक आग्रह छ,’ थापाले भने ।

उनले अबको राष्ट्रपति जतिसक्यो धेरै नागरिकतिर फर्किनुपर्नेमा जोडसमेत दिए । ‘राजसंस्थाको जुन परम्परा अभ्यास हो, त्यसबाट यसलाई अलग्ग गर्न सक्नुपर्ने रहेछ,’ थापाले भने, ‘हामीले कताकता राजसंस्थाको निरन्तरता छ है भनेजस्तो आभाष दिन खोज्यौं, भद्दा नक्कल गर्न खोज्यौं । यो क्रमलाई यसपटक हामीले भंग गर्नुपर्छ ।’ फाइल तस्विर 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।