काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनकाे फराकिलाे अन्तरले हराएकाे छ ।
नेपालले दिएकाे २ सय ४९ रनकाे लक्ष्य पछ्याएकाे यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१ रनमै अलआउट भयाे । यूएईका लागि आयन अफजल खानले सर्वाधिक २९ रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले ५ विकेट लिए । यस्तै सन्दीप लमिछानेले २ तथा साेमपाल कामी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले सर्वाधिक ७७ रन बनाए । यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, राेहन मुस्तफा र जवार फरिदले २/२ विकेट लिए ।
याे जितसँगै नेपालले लिग–२ बाटै दुई खेलअघि नै आउँदाे चार वर्षका लागि एकदिवसीय मान्यता जाेगाएकाे छ । नेपालले सन् २०१८ मार्च १५ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियाे । नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाकाे चाैथाै स्थानमा उक्लिएकाे छ । एकदिवसीय मान्यता कायम गर्न तालिकाकाे शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ ।
नेपालसँगकाे हारसँगै यूएईले एकदिवसीय मान्यता कायम राख्न प्लेअफ क्वालिफार खेल्नुपर्नेछ । ३४ खेलमा ३१ अङ्क भएकाे यूएई तालिकाकाे छैटाैँ स्थानमा छ । पाँचाैँ स्थानमा रहेकाे अमेरिकाकाे ३६ खेलमा ३५ अङ्क छ । नामिबिया ३६ खेलमा ३९ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ ।
याे जितसँगै नेपालले शीर्ष तीनमा रहँदै साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै राखेकाे छ । अब नेपालले लिग–२ काे अन्तिम शृङ्खलाकाे बाँकी दुइटै खेल जित्नुपर्ने हुन्छ । अब नेपालले भोलि साेमवार पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ । लिग–२ बाट स्कटल्यान्ड ३६ खेलमा ५० अङ्क र ओमान ३६ खेलमा ४४ अङ्कसहित क्रमशः पहिलाे र दाेस्राे स्थानमा रहँदै साेझै विश्व कप खेल्नका लागि छनाेट भइसकेका छन् ।
ललितनारायण राजवंशीले नेपालको एकदिवसीय टिममा सन् २०१९ मा डेब्यू गरेका थिए। जनावरी २५, २०१९ मा दुबईमा घरेलु टिम युएईविरूद्धको खेलमा बलरको रुपमा राष्ट्रिय टिममा डेब्यू गरे पनि उनले बलिङ गर्न भने पाएनन्।युएईविरुद्ध नेपाल ११३ रनमा अलआउट भएको थियो। युएईले ७ विकेट गुमाएर लक्ष्य पार गरेको खेलमा नेपालले सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, पारस खड्का र बसन्त रेग्मीलाई बलिङ गराए पनि डेब्यू बलर ललितलाई मौका दिएन। सो खेलमा ब्याटिङतर्फ भने ललितले १५ खेल खेलर नटआउट २ रन जोडेका थिए।
डेब्यू खेलमै बलिङ गर्न नपाएका २४ वर्षीय स्पिनर ललित त्यसयता नेपाली टिममा लगातार परिरहेका छन्। चोटका कारण केही समय टिम बाहिर रहेका ललितका लागि प्लेइङ-११ मा पर्न भने पहिलो चुनौती बनिरहेको थियो। प्लेइङ-११ परेपछि पनि लगातार विकेट लिन उनले संघर्ष गर्न परिरहेको थियो।
उनले १३ एकदिवसीय खेलमा ११ विकेट लिन सफल भएका थिए। गत डिसेम्बरमा नामिबियाविरुद्ध ४ विकेट लिएर ३६ रन खर्चनु उनको उत्कृष्ट प्रदर्शन थियो। उनले १३ मध्ये ३ खेलमा बलिङ गर्न पाएका थिएनन् भने चार खेलमा बलिङ गरेर पनि विकेटविहीन बन्न परेको थियो।
आइतबार आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरूद्धको खेलमा भने ललितले अघिल्ला १३ खेलभन्दा उत्कृष्ट प्रदर्शन गर्न सफल भए। १४औं खेलमा उनले ५ विकेट लिन सफल भए।ललितकै उत्कृष्ट बलिङमा नेपालले युएईमाथि १७७ रनको अहिलेसम्मकै ठूलो जित निकाल्न सफल भयो भने एकदिवसीय मन्यता समेत जोगाउन सफल भयो।
ललितले खेलमा ७.५ ओभर बलिङ गर्दा ५ विकेट लिए भने २० रन मात्र खर्चिए। जसमा उनले २ ओभर मेडन फ्याँकेका थिए। यो उनको करिअरकै उत्कृष्ट बलिङ हो। यसअघि उनको उत्कृष्ट प्रदर्शन ४ विकेट लिएर ३६ रन दिनु थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २४८ रन जोड्यो। खराब सुरुवात गरे पनि कप्तान रोहितकुमार पौडेलको धैर्यपूर्व ब्याटिङले नेपालले युएईलाई २४९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो।नेपालका लागि महत्वपूर्ण खेलमा जित निकाल्न बलरले उत्कृष्ट खेल्न जरुरी थियो। त्यहिअनुरुपमा कप्तान रोहितले ललितमाथि विश्वास गर्दै पहिलो ओभरमै बल थमाए।
ललितले इनिङ्गसको पाँचौ बलमै सफलता हात पार्ने क्रममा युएईका वृत्य अरिविन्दलाई शून्यमा बोल्ड गरे।पाँचौ ओभरमा आफ्नो दोस्रो स्पेल बलिङ गरेका ललितले मोहमद वासीमलाई कुशल भुर्तेलको हातबाट १ रनमा क्याच गराए। सो ओभर पनि कुनै रन नखर्चिएका ललितले लगातार दोस्रो ओभर मेडन फ्याँकेका थिए।
ललितले युएईका लागि सबैभन्दा बढी रन जोडेका आयान खानलाई पनि २९ रनमा भुर्तेलबाट क्याच गराएका थिए।जुनइद सिद्धिकीलाई १ रनमा एलबिडब्लूको धरापमा पारेका ललितले आफ्नो पाँचौ तथा टिमका लागि अन्तिम विकेट लिने क्रममा जहूर खानलाई शून्यमा आउट गरे। सन्दीप लामिछालेने पनि २ विकेट लिएको खेलमा युएई ७१ रनमै अलआउट भयो।
करिअरकै उत्कृष्ट बलिङ गरेसँगै ललित प्रफुल्लित छन्।‘धेरैपछि मौका पाएको थिएँ। प्रशिक्षकले त्यहिँअनुसारको योजना बनाउनु भएको थियो। मलाई लाग्छ प्रशिक्षकले यस्तै प्रदर्शनका लागि मलाई राख्नु भएको थियो,’ ललितले हाँस्दै भने।