इन्स्पेक्टरको फुली लगाएर असइलाईलाई थर्काउने प्रहरी जवान निलम्बित

इन्स्पेक्टरको  फुली लगाएर असइलाईलाई थर्काउने प्रहरी जवान निलम्बित

इन्स्पेक्टरको दर्ज्यानी चिह्न लगाएर प्रहरी कार्यालयमा गई असइलाई दबाब दिने सशस्त्र प्रहरीका एक जवान निलम्बनमा परेका छन् । आचारसंहिताविपरीत कार्य गरेकोमा सशस्त्र प्रहरी जवान सन्दीपकुमार साह निलम्बित भएका हुन् ।

उनले सशस्त्र प्रहरी निरीक्षकको दर्ज्यानी चिह्नसहितको बर्दीमा इलाका प्रहरी कार्यालय आरुघाटमा पुगी म गोरखा गुल्मको इन्स्पेक्टर हुँ भन्दै इलाका प्रहरी कार्यालयमा परेको एक निवेदनमाथिको छलफललाई प्रभावित पार्न खोजेका थिए ।

सशस्त्र प्रहरी जवान साह सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बंगलामुखी काठमाडौंमा कार्यरत रहेकोमा १० दिन घर बिदा स्वीकृत गराई बिदा गएका थिए ।

Europass CV in Nepal

गोरखा जिल्ला आरुघाट गाउँपालिका– ३ थुमी बस्ने १५ वर्षीया सुस्मिता बराम यही फागुन १५ देखि १९ गतेसम्म गोरखा जिल्लाको सदरमुकाममा रनिङ सिल्डका लागि भाग लिन गएको र सो कार्यक्रमपश्चात् घर फिर्ता नभई सोही वडाको श्यामम्राङ बस्ने हिराबहादुर बरामले ललाइफकाई आफूसँग लगेको भन्ने निवदेन इलाका प्रहरी कार्यालय आरुघाटमा परेका थियो ।

सुस्मिता बरामका बुबाले नाबालिका छोरीलाई ललाइफकाई लैजाने हिराबहादुर बरामउपर कारबाही गरिपाऊँ भनी निवेदन दिएपछि दुवै पक्षलाई आवश्यक अनुसन्धानका लागि उक्त प्रहरी कार्यालयमा झिकाइएको थियो । सशस्त्र प्रहरी जवान साहले सुस्मिता बरामको बुबा मेरो ससुरा र हराएकी सुस्मिता बराम मेरो साली हो, उक्त केसमा आएको हुँ भनी इलाका प्रहरी कार्यालय आरुघाट पुगेको थिए ।

घटनालाई प्रभावित पार्न र सालीको पक्षमा वकालत गर्न गएको भन्ने बुझिएका उनलाई चिह्नसहितको बर्दी दुरुपयोगसमेत गरेपछि सशस्त्र प्रहरी नियमावली, २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ खण्ड (घ) बमोजिम निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।