मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

दक्षिण कोरियाबाट पैदल हिडेर लुम्बिनी आइपुगे २ सय बौद्ध भिक्षु

Himali Patrika 1 मिनेट पढाइ

रुपन्देही । दक्षिण कोरियाबाट बुद्धस्थलको पैदलयात्रामा निस्केका दुई सय बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनी आइपुगेका छन् । याे समूहलाई हिजाे लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहकाबीच स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्गसहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन् ।

कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीलाई रुपन्देही निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले पैदलयात्रीलाई बुद्धजन्मस्थलमा खादा ओढाएर स्वागत गर्नुभयो ।

कोरियाली बौद्ध तीर्थयात्रीको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेको थियो । पूजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको उपस्थिति रहेको छ । प्रार्थना र पूजामा प्रतिनिधिसभा सदस्य घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्थल लुम्बिनी आएका बौद्ध भिक्षुसहितको टोलीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले यस्ता भ्रमणले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

घिमिरेले नेपाल र दक्षिण कोरियाबीच धार्मिक रुपमा मात्रै नभई रोजगारीका हिसाबले पनि सम्बन्ध जोडिएको उल्लेख गर्नुभयो । नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरुसहितका तीर्थयात्रीलाई बुद्धजन्मस्थल मायोदवी प्राङ्गणमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्धजन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताउनुभयो ।

कोषका उपाध्यक्ष त्रिपाठीले फागुन महिना भगवान् गौतमबुद्धको जीवनमा निकै ठूलो महत्वको महिना भएको बताउँदै यही महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किमिको दुरी पूरा गरी कष्टका साथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीका लागि खुसीको क्षण रहेको बताउनुभयो । उहाँले अग्रज भिक्षुसहितको तीर्थयात्रीको लुम्बिनी आगमनले दक्षिण कोरियासँग नेपालको आध्यात्मिक सम्बन्ध अझै मजबुद भएको बताउनुभयो । उहाँले दक्षिण कोरियाबाट उच्च तहका भिक्षुसहितको बौद्ध तीर्थयात्रीको लुम्बिनी भ्रमणले विश्वमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।

दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयअन्तर्गत दर्ता बौद्धसंस्थाले दुई सय कोरियाली बौद्ध भिक्षु–भिक्षुणीसहित बौद्ध तीर्थयात्रीलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो । भारतस्थित बोधगया, शारनाथ, कुसिनगर हुँदै पैदलयात्री लुम्बिनी आइपुगेका हुन् । मायादेवी मन्दिरभित्र रहेको बुद्ध जन्मस्मारक (मार्कर स्टोन), पवित्र पुस्करणी पोखरी, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्राङ्गणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु छासुङ्गले प्रवचन दिनुभयो ।

यस अवसरम लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल लगायतको उपस्थिति थियो । फेब्रअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरु भएको थियो ।

लुम्बिनीमा पछिल्लो समय बौद्ध देशबाट बौद्ध धर्मगुरु र तीर्थयात्रीको ठूलो–ठूलो समूह बुद्धजन्मस्थल लुम्बिनी आउनेक्रम बढेको र यसले कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रलाई ऊर्जा थपेको कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताउनुभयो । उहाँले चीनबाट पनि फेरि यस्तै ठूलो समूह लुम्बिनी आउने कार्यक्रम रहेको बताउनुभयो ।

टोलीमा दक्षिण कोरियाबाट त्यहाँको राष्ट्रिय सञ्चारमाध्यमको सहभागिता थियो । कोरियाली बौद्ध धर्मावलम्बीको टोली बुधबार बिहान करहवा नाका हुँदै भारततर्फ पैदल फर्कनेछ । तीर्थयात्रीलाई मङ्गलबार बिहान नेपाल भारत सीमा बेलहिया नाकामा पनि स्वागत गरिएको थियो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।