नेपाली दर्शक रुखका हाँगामा बसेर क्रिकेट हेरे, हाँगा भाँचिन्छ कि भनेर म चिन्तित पनि थिएँ : मुख्य प्रशिक्षक

नेपाली दर्शक रुखका हाँगामा बसेर क्रिकेट हेरे,  हाँगा भाँचिन्छ कि भनेर म चिन्तित पनि थिएँ : मुख्य प्रशिक्षक

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) सँग नेपाली टिमलाई भारतमा खेल्ने वातावरण मिलाउन आग्रह गरेको बताएका छन् ।

भारतीय क्रिकेट अनलाइन क्रिकबजसँगको कुराकानीमा प्रशिक्षक देसाईले आफूले आईसीसी र बीसीसीआईका सचिवसमेत रहेका एसियाली क्रिकेट परिषद्का अध्यक्ष जय शाहसँग त्यसबारेमा कुराकानी गरेको बताएका छन् ।

क्रिकबजसँगको कुराकानीमा प्रशिक्षक देसाईले भनेका छन्, ‘मैले आईसीसी र बीसीसीईका सचिव तथा एसीसी अध्यक्ष जय भाइसँग कुरा गरेको छु । स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इंग्ल्यान्डमा खेलिरहेका छन् । हाम्रो टिमलाई पनि भारतमा खेल्न दिइनुपर्छ, विशेषगरी रणजी ट्रफीमा । यदि त्यसो भएमा हामीले आगामी ४ वर्षमा टेस्ट खेल्ने राष्ट्र बन्न सक्छौँ ।’

गत माघ २३ मा मात्रै नेपालको मुख्य प्रशिक्षक सम्हालेका देसाईले पछिल्ला १२ मध्ये ११ महत्त्वपूर्ण खेलमा जित दिलाउँदै नेपाललाई विश्वकप क्वालिफायरमा छनोट गराउन सफल भएका छन् ।

प्रशिक्षक देसाईले नेपालसँगै क्रिकेट सुरु गरेको छिमेकी मुलुक अफगानिस्तानले आईसीसीको पूर्ण सदस्य बनिसकेको बताएका छन् । उनले भनेका छन्, ‘अफगानिस्तानसहित हाम्रा धेरैजसो छिमेकी देशहरू पूर्ण सदस्य छन् । अफगानिस्तान र नेपालको क्रिकेट यात्रा सँगसँगै जस्तो सुरु भएको हो ।’

मुख्य प्रशिक्षक देसाईले नेपाली प्रशंसकहरूको पनि प्रशंसा गरेका छन् । ड्रेसिङ रुमबाट रुख-रुखमा प्रशंसकहरूलाई देख्दा आफू चिन्तितसमेत बनेको उनको भनाइ छ । उनी भन्छन्, ‘प्रशंसकहरू जताततै थिए, रुखमा, सडकमा पर्खालमा घरका छतहरूमा । रुखका हाँगा भाँचिन्छ कि भनेर म चिन्तित पनि थिएँ । मैले एसोसियट क्रिकेटमा प्रशंसकको यस्तो क्रेज कहिल्यै देखेको थिइनँ ।’