हाइटेन्सनमा प्रयोग हुने तार नेपालमै उत्पादन गरिने

हाइटेन्सनमा प्रयोग हुने तार नेपालमै उत्पादन गरिने

विद्युतीय उपकरणमा प्रयोग हुने तार (केवल) र प्रसारण लाइनमा प्रयोग हुने कन्डक्टर उत्पादनमा देशकै ठूलो र अग्रणी संस्था लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालले उत्पादन र बजार बिस्तार गर्ने भएको छ।

रूपन्देहीको बुटवलस्थित औद्योगिक क्षेत्रमा ४६ वर्ष अघि स्थापना भएको उद्योगले विद्युतीकरणका लागि आवश्यक पर्ने घरायसी तथा प्रसारण लाइनमा प्रयोग हुने केबल तथा कन्डक्टर उत्पादन गर्दै आएको छ।

कम्पनीले अब भने हाइटेन्सनमा प्रयोग हुने एचटी केबल र तारको समेत उत्पादन गर्ने भएको हो। उद्योगको नयाँ प्लान्ट नवलपरासीमा सञ्चालन गर्न लागिएको लिट्मस इन्डस्ट्रिज लिमिटेडका उपाध्यक्ष सरोज मिश्राले बताए। झण्डै ४ अर्बको लगानीमा स्थापना गर्न लागिएको प्लान्टमा नेपालमै पहिलो पटक हाइटेन्सनमा प्रयोग हुने एचटी केबल र तार उत्पादन हुने मिश्रले जानकारी दिए।

Europass CV in Nepal

‘आयात प्रतिस्थापन गर्दै विद्युतीकरणमा नेपाललाई सघाउनु हाम्रो मुख्य उद्देश्य हो। त्यही उद्देश्य अनुरूप नवलपरासीमा नयाँ प्लान्ट स्थापना गर्दैछौं’ मिश्रले भने। बजार विस्तारसँगै कम्पनीले आफ्नो प्रडक्ट पोर्टफोलियो विस्तार गर्ने रणनीति पनि लिएको छ।

लिट्मस बुटवलको औद्योगिक क्षेत्रमा सन् १९७७ (वि.स.२०३३) मा लुम्बिनी विद्युत् उद्योगको नाममा स्थापना भएको थियो। उपभोक्ता माझ लुम्बिनी केबलका नामले परिचित उद्योगलाई सन् २०२२ मा पब्लिक कम्पनीमा रूपान्तरण गर्दै लिटमस इन्डस्ट्रिज लिमिटेडको रूपमा रिब्रान्डिङ गरिएको हो। सुरुमा एसीएसआर कन्डक्टरबाट उत्पादन थालेको यो उद्योग अहिले नेपालकै ठूलो र विश्वनीय केबल उत्पादन कम्पनीको रूपमा स्थापित छ। कम्पनीले छिट्टै आइपिओ निष्कासन गर्ने तयारी समेत गरेको छ।

लिटमसका उत्पादनहरू सबैभन्दा सुरक्षित र टिकाउ रहेकाले आम उपभोक्ता, नेपाल विद्युत् प्राधिकरण तथा अन्य ठूला परियोजनाको पहिलो रोजाइमा पर्न सफल भएको कम्पनीका अधिकारीहरूको दाबी छ। ‘बिजुलीको बचत र सुरक्षाको सवालमा लिट्मस कटिबद्ध रहेकाले जनताको विश्वास जित्न सफल भएको हो’ मिश्रले भने।

लिटमस नेपाल सरकार र भारत सरकारले तोकेको मापदण्ड पूरा गरी वस्तु उत्पादन र गुणस्तर चिह्न प्राप्न गर्ने पहिलो कम्पनी हो। जर्मन प्रविधिमा स्वचालित मेसिनबाट तार (केबल) उत्पादन गर्दै आएको लिटमसले कच्चा पदार्थको गुणस्तरमा विशेष ध्यान दिइएको जनाएको छ। कम्पनीका उपाध्यक्ष मिश्रले उत्पादित वस्तुको गुणस्तरलाई ध्यान दिँदै विश्वमै नाम चलेका उत्कृष्ट कम्पनीबाट कच्चा पदार्थहरू खरिद गर्ने गरेको बताए।

लिट्मसले घरायसी, औद्योगिक, व्यावसायिक र विद्युतीय उपकरणमा प्रयोग हुने तार, प्रसारण लाइनमा प्रयोग हुने कन्डक्टर उत्पादन गर्दै आएको छ। उसले पेपर इन्सुलेटर स्ट्रिप्स पनि उत्पादन गर्छ। ११ देखि ४ सय केभीए भोल्टेजको प्रसारण लाइनमा प्रयोग हुने एसीएसआर कन्डक्टर्स, शहरी क्षेत्रमा प्रयोग हुने ओभरहेड डिस्ट्रिव्युसन १.१ केभीएको भोल्टेजमा प्रयोग हुने एरियल बन्च्ड केबल (एविसी), ११ केभिए भोल्टेजको ओभरहेड ट्रान्समिसनमा प्रयोग हुने एक्सएलपीइ कभर्ड कन्डक्टर्स लिटमसका उत्पादन हुन्। हाउस वायरिङ केबल–कन्सेन्ट्रिक हाउस वायर, एफआर, एफआरएलएस, फ्लेक्जिबल ट्वीन आदि छन्।

औद्योगिक तथा व्यापारिक क्षेत्रमा प्रयोग हुने एलभी पावर केबल तथा वायर छ। ट्रान्सफर्मर तथा अन्य विद्युतीय उपकरणमा प्रयोग हुने इनामेल वायर, पेपर स्ट्रिप्स लिटमसका उत्पादन हुन।

रमेश कर्पको एक अर्ब लगानी रहेको उद्योगको उत्पादन क्षमता हाउस वाइरिङ केबलको वार्षिक २५ लाख ३९ हजार ५७० क्वाइल हो तर उसको हालको उत्पादन वार्षिक ३ लाख क्वाइल छ। भारतबाट अवैध रूपमा ल्याइने केवलका कारण उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको मिश्रले बताए। लिटमसले सन् २००५ मा नेपाल सरकारबाट उत्पादनको गुणस्तर प्रामाणित गर्न सफल भएको थियो। २०१० मा उसले नेपाल गुणस्तर प्रमाणपत्र ३४४ (ने.गु.३४४) पायो। लिटमसले आइएसओ ९००१–२०१५ अर्थात् भारत गुणस्तर चिह्न पनि प्राप्त गर्न सफल भएको छ।

नेपालमा मापदण्ड विपरीतका र भारतबाट अवैध रूपमा भित्रिने तार (केबल)का कारण स्वदेशी उत्पादनले बजार पाउन नसकेको कम्पनीले जनाएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले दिने ने.गु.चिह्न ३४४ नपाएका उत्पादन बिक्री गर्न नपाइने कानुनी प्रावधान भए पनि बजारमा कम गुणस्तर र अवैध रूपमा भारतबाट भित्रिएका कमसल तारको खुल्ला बिक्री वितरण भइरहेको लिटमसका उपाध्यक्ष मिश्रको दाबी छ। नेपालमा सञ्चालित केही ठूला परियोजनाले समेत त्यस्ता सामानको प्रयोग गर्ने गरेको उनले आरोप लगाए। बजारको समस्याकै कारण लिटमसले उत्पादन क्षमताको १० प्रतिशत मात्रै उत्पादन गरीरहेको उनले बताए।

नेपाल विद्युत् प्राधिकरण, बुटवल पावर कम्पनी, नेपाल टेलिकम, बलेफी हाइड्रोपावर, ट्रान्सवेल्ड लिटमसका ठूला ग्राहकमा पर्छन्। जगदम्बा सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, शिवम सिमेन्ट, एयरटेक, एमएडब्लु इन्जिनीयरिङ पनि लिटमसका ग्राहक हुन्। कम्पनीका उपाध्यक्ष मिश्रका अनुसार लिटमसले निकसँगको सहकार्यमा नेपाल विद्युत् प्राधिकरणलाई करिब १० हजार ट्रान्सफर्मरको काम गरिरहेको छ। घरायसी केबलतर्फ झण्डै १८ प्रतिशत बजार लिटमसले ओगटेको कम्पनीको दाबी छ।

कम्पनीले अबको दुई वर्षमा आफ्ना उत्पादनहरू निर्यात गर्ने योजना अनुरूप काम गरिरहेको उपाध्यक्ष मिश्रले बताए। कम्पनीले २७ वर्ष अघि आफ्ना उत्पादन भारत निर्यात सुरु गरेको स्मरण गर्दै उनले लिटमसलाई निर्यातजन्य उद्योगकै रूपमा स्थापित गर्ने योजना सुनाए। ४६ वर्षअघि एसीएसआर कन्डक्टरबाट उत्पादन थालेको लुम्बिनी विद्युत् उद्योगले १९९४ मा इनामेल वाइन्डिङ वायरको उत्पादन थालेको थियो।

तत्कालीन समयमा सो वायर भारत निर्यात हुन्थ्यो तर भारतले नेपाली वस्तुमा अयात शुल्क लगाए पनि निर्यात रोकियो। २००५ मा लिटमसका उत्पादनहरू फेरि भुटान निर्यात हुन थाले। भारतको लगानीमा भुटानमा निर्माणाधीन जलविद्युत् परियोजनाका लागि कन्डक्टर, केबल भुटान निर्यात हुने गरेको मिश्रले बताए। उनका अनुसार ९ वटा परियोजनाका लागि लिटमसका उत्पादनहरू भुटान निर्यात गरिन्थ्यो तर भुटानमा जलविद्युत् पूर्वाधार स्याचुरेसनमा पुगेपछि त्यहाँको निर्यात पनि रोकियो।

‘अहिले हामी बजार विस्तारमा लागेका छौं। पाँच वर्ष भित्र आफ्नो प्रडक्ट पोर्टफोलियो विस्तार गर्ने रणनीति पनि बनाएका छौं’ मिश्रले भने। उनका अनुसार कम्पनीले अब एमसिभी, एलइडी लाइट, फ्यान, एफएमइजी–स्विच र इन्डक्सन चुलो उत्पादन थाल्ने छ। उपभोक्ताको सहजताका लागि लिटमस साथी मोवाइल एप र हटलाइन सेवा सुरु गर्ने योजना बनेको छ।

कम्पनीमा झण्डै ५ सयले रोजगारी पाएका छन्। देशभर झण्डै १३० डिस्ट्रिब्युटर र २ हजार भन्दा बढी रिटेलर मार्फत कम्पनीका उत्पादनहरू बिक्री भइरहेको छ। सातै प्रदेशका सबैजसो जिल्लामा लिटमसका उत्पादन पुगेको कम्पनीको दाबी छ ।

 

Europass CV in Nepal