मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

दाङमा एसइईको तयारी गरिरहेकी एक छात्रामाथि जबर्जस्ती करणी

Himali Patrika 1 मिनेट पढाइ

घोरही।  दाङमा एसइईको तयारी गरिरहेकी एक छात्रामाथि जबर्जस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। शान्तिनगर गाउँपालिका वडा नम्बर ७ मा रहेको शिवशक्ति माध्यमिक विद्यालय धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी गरेको जाहेरीमा उल्लेख छ। ‘सबै बसेर परीक्षाको तयारी गरिरहेका रहेछन्, त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ भन्दै बाहिर बोलाउन भनेछन्,’ प्रहरी निरीक्षक केसीले भने, ‘त्यसपछि पीडितले अहिले पढिरहेको भनिरहँदा इमर्जेन्सी काम भएको भन्दै बोलाएर भवनको भर्‍याङमुनि लगेर जबर्जस्ती करणी गरेको पीडितले बयान दिएकी छिन् ।’

पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए । उनी सोही विद्यालयका प्रावि शिक्षक हुन् । जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । उनी फरार रहेको प्रहरी निरीक्षक केसीले बताए ।

पीडितले मंगलबार जाहेरी दिएको प्रहरीले जनाएको छ। पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनको मंगलबार स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ । त्यसको रिपोर्ट आज आउने प्रहरी निरीक्षक केसीले बताए । धनौरी स्कुलको परीक्षा केन्द्र श्रीगाउँमा रहेको छ । पीडित बालिकाले परीक्षा भने नियमित दिइरहेकी छिन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।