मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

विश्वविजेता वेस्ट इन्डीजसँग पहिलो पटक भिड्दै नेपाल, कसले जित्ला खेल ?

Himali Patrika 1 मिनेट पढाइ

क्रिकेटमा महान् खेलाडी तथा वेस्ट इन्डीजका पूर्वकप्तान ब्रायन लारा नेपाली क्रिकेटप्रति सद्भाव राख्छन्। दश वर्षअघि नेपालमै आएर उनी नेपाली खेलाडीहरूलाई हौसला दिन चाहन्थे। एउटा ट्वीट गर्दै उनले नेपाल आउने चाहना प्रकट पनि गरेका थिए। तर आउन नसकेपछि ट्विटरबाटै माफी मागे।

त्यति बेला नेपाल आईसीसीको डिभिजन-३ मा खेलिरहेको थियो। बरमुडामा नेपालको खेल हेरेपछि लाराले ट्वीट गर्दै लेखेका थिए: “टीम नेपालले निकै राम्रो खेलिरहेको छ। खेलाडीहरूमा आत्मविश्वास छ। ‘फ्यूचर अफ क्रिकेट’।”

उनले देखेको त्यही ‘फ्यूचर अफ क्रिकेट’ राष्ट्र अहिले उनकै देश वेस्ट इन्डीजविरुद्ध उभिँदै छ। बिहीवार आईसीसी विश्वकप छनोटमा नेपाल र वेस्ट इन्डीजको खेल हुन लागेको छ। वेस्ट इन्डीज दुई पटकको एकदिवसीय विश्वकप विजेता टोली हो।

अनि कुनै पनि ‘फर्म्याट’को अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले वेस्ट इन्डीजसँग खेल्न लागेको पनि यो पहिलो अवसर हो।अहिले राष्ट्रिय टोलीमा समाविष्ट कतिपय नेपाली खेलाडी टेलिभिजनमा वेस्ट इन्डीजको खेल हेरेर हुर्केका होलान्।

ब्रायन लाराले टेस्ट क्रिकेटमा हालसम्मकै धेरै अविजित ४०० रन बनाएको हेरे होलान्। क्रिस गेलको विस्फोटक ब्याटिङ कसलाई पो मन नपर्ला र?अनि कुनै दिन विश्वक्रिकेटमा बलियो मानिएको टोलीविरुद्ध खेल्ने सपना कतिपय नेपाली खेलाडीहरूले देखे होलान्, कतिले भने सोचेका समेत थिएनन् होला।

तर विश्वकप छनोट यी दुई टोलीलाई एकै ठाउँमा उभ्याएको छ।
सन् १९७५ मा इङ्ग्ल्यान्डमा आयोजित पहिलो संस्करणको विश्वकप जितिसकेको वेस्ट इन्डीज र सन् १९९६ देखि मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपाल समूह ‘ए’ मा सँगै परेका छन्।

पछिल्लो समय वेस्ट इन्डीजको प्रदर्शन तुलनात्मक रूपमा कमजोर भएकाले ऊ ‘सुपर लीग’ प्रतिस्पर्धामार्फत् सीधै विश्वकपमा छनोट हुन सकेन र क्वालिफायरमा खेल्न बाध्य भयो।नेपाल भने आईसीसी विश्वकप लीग-२ को शीर्ष तीनमा आफ्नो स्थान सुरक्षित गर्दै पहिलो पटक ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्न छानिएको हो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।