काठमाडौँ । भारतीय फिल्म आदिपुरुषको प्रदर्शन रोकिएको छ । फिल्मका वितरक मनोज राठीका अनुसार विवाद लामो समयसम्म नलम्बियोस् भन्ने उद्देश्यले उक्त फिल्म नचलाउने निर्णय गरेको जानकारी दिए । ‘विवाद नलम्बियोस् भनेर हामीले फिल्म नचलाउने निर्णय गर्यौं‚’ उनले भने ।
अरु भारतीय फिल्म चलाए पनि आदिपुरुष हलहरूमा नचलाइने उनले बताए । वितरकले नै फिल्म नचलाउने भएपछि आफूहरूले चलाउन नमिल्ने चलचित्र संघका उपाध्यक्ष भास्कर ढुंगानाले बताए ।‘वितरकले फिल्म नचलाउने भनेर भनिसकेपछि हामीले चलाउनु पनि भएन‚’ उनले भने ।
सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न उच्च अदालत पाटनले बिहीबार अल्पकालीन आदेश गरेको थियो । न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले बिहीबार सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न आदेश जारी गरेको थियो ।
अदालतको यो आदेशसँगै फिल्म आदिपुरुषको प्रदर्शनको बाटो खुले पनि वितरकले नै प्रदर्शन नगर्ने भनेपछि फिल्मको प्रदर्शन रोकिएको हो । यसअघि शान्ति सुरक्षाको कारण देखाउँदै काठमाडौं मात्रै नभई देशभर ‘आदिपुरुष’ को प्रदर्शन स्थगन गरिएको थियो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गत सोमबारदेखि नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्रदर्शन रोक्नुका साथै काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने बताएका थिए । प्रदर्शन रोकिएपछि हलहरूको छाता संगठन चलचित्र संघ यसविरुद्ध अदालत पुगेको थियो ।