काठमाडौँ । काठमाडौं महानगरपालिकाले नगर प्रहरीको दरबन्दी थप गर्ने भएको छ । ३ सय ३४ जना दरबन्दी भएको नगर प्रहरी बलमा संख्या थप गर्दै ५ सय जना पुर्याउन लागिएको हो । आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गर्दै उपप्रमुख सुनिता डंगोलले नगर प्रहरीको दरबन्दी संख्या ५ सय पुर्याउने बताइन् ।
महानगरपालिकाको नगर प्रहरी बलमा स्वीकृत ३ सय ३४ जनाको दरबन्दीमध्ये १ सय ६२ जना नगर प्रहरी जवान रिक्त भएपछि करारमार्फत निजी कम्पनीमार्फत खटाइएको छ ।
काठमाडौं महानगरको नगर प्रहरी बलमा ५ जना उपरीक्षक, पाँचै जना प्रहरी नायब उपरीक्षक, ३२ जना प्रहरी निरीक्षक, ३९ जना सई, २६ जना असई, ६० जना हवल्दारलगायत छन् ।
दरबन्दी थप गर्ने तयारी भएपछि महानगर नगर प्रहरी सेवामा प्रवेश गर्ने पहिलो खुड्किलो जवान पद भए पनि कानुनी अड्चनका कारण महानगरले सिधै भर्ना गर्न सक्दैन । नगर प्रहरी जवान महानगरमा दोस्रो तहको कर्मचारीभित्र पर्छ ।
काठमाडौं महनगरको महानगर प्रहरीसम्बन्धी विनियमावली २०७२ अनुसार नगर प्रहरीहरुको सुरु नियक्त हुने पदमा नगर प्रहरी सहयोगी, नगर प्रहरी जवान, नगर प्रहरी सहायक निरीक्षक र नगर प्रहरी निरीक्षक सिधा भर्ना गर्न पाउने नियम छ । उनीहरुको तलब र रासनभत्ता उपत्यकाको नेपाल प्रहरीले पाउने सुविधाअनुसार रहेको छ ।
तर, सरकारले २०७४ सालमा ल्याएको स्थानीय सरकार सञ्चालनसम्बन्धी ऐनमा पहिलो, दोस्रो र तेस्रो तहका कर्मचारीलाई सिधै स्थायी भर्ना गर्न रोक लगाएको छ । स्थानीय सरकार सञ्चालनसम्बन्धी ऐन दफा ८३ को उपदफा ८ मा नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगी, चौकीदार, माली लगायत सरसफाइ सम्बन्धी पदमा स्थायी पदपूर्ति गर्न पाइदैन ।