रुसी सेनामा भर्ती भएका नेपाली युवा सन्दीप युक्रेनको बाख्मुत युद्धमा मारिए

रुसी सेनामा भर्ती भएका नेपाली युवा सन्दीप युक्रेनको बाख्मुत युद्धमा मारिए

केही महिनाअगाडि मात्र रुसी सेनामा भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको छ । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार युक्रेनको बाख्मुत शहरमा भएको युद्धमा नेपालका सन्दीप युक्रेनी सेनाको कारबाहीमा मारिएका हुन् ।

रुसले सन् २०२२ को फेब्रुअरीयता युक्रेनमा आक्रमण गरिरहेको छ । यस्तोमा रुस र युक्रेन दुवैले विदेशी मूलका मानिसहरूलाई सेनामा भर्ती गर्न थालेका छन् ।

केही समयअगाडि मात्र सन्दीपले आफ्नी बहिनी शान्तालाई आफू रुसी सेनामा भर्ती भएको खबर सुनाएका थिए । नेपालमा ल्याब टेक्निसियन पढेका उनी लामो समय जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस गएका थिए ।

सन्दीप थपलियाकी बहिनी शान्ता थपलिया ।
सन्दीपलाई रुसी सेनामा महिनाको ७५ हजार रुबल अर्थात् नेपालको झण्डै १ लाख रुपैयाँ तलब दिने बताइएको थियो ।

अन्तिमपटक उनले परिवारलाई युद्धमा भएकाले पछि फोन गर्ने बताएका थिए । त्यसपछि उनी बाख्मुतको युद्धमा मारिए । न्युयोर्क टाइम्सका अनुसार सन्दीपजस्ता नेपाली युवाहरू रुस र युक्रेन दुवैतर्फका सेना बनेका छन् ।