घोराही। रोल्पाली सेवा समाज रोल्पाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भारतमा काम गर्ने क्रममा दुर्घटना भइ गम्भीर घाइते भएका माडी ५ रोल्पाका नरबहादुर वलीका लागि आर्थिक सहयोगको अपील गरेको छ। भारतको गढवालमा काम गर्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका वलीलाई उपचार गर्न आर्थिक अभाव भएपछि रोल्पाली सेवा समाजले ‘नरबहादुर बचाउ अभियान’ सञ्चालन गर्दै आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको हो।
घाइते नरबहादुर वलीको घाँटी र मेरुदण्डको नसा च्यापिएको उनका आफन्त तीर्थ बहादुर खत्रीले बताउनु भयो। हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको वलीको अपरेशनका लागि रु ३ देखि ४ लाख सम्म रकम लाग्ने खत्रीको भनाइ छ।
रोल्पाली सेवा समाजले घाइते वलीका लागि ३ हप्ते आर्थिक सहयोग अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष दिलाराम वलीले जानकारी दिनुभयो। नरबहादुर बचाउ अभियान संस्थाकै उपाध्यक्ष लाल कुमारी रोक मगरको संयोजकत्वमा अभियान समिति घोषणा गरिएको उहाँले जानकारी दिनुभयो।
अध्यक्ष वलीले गरिबको जीवन बचाउनु हामी सबैको धर्म भएको बताउँदै देश विदेशमा बस्ने सबै मनकारी हरूलाई थोरै भएपनि सहयोग गरिदिन अपिल गर्नुभएको छ। सहयोग गर्न चाहनेहरूले ग्लोबल आइएमई बैंक मार्फत संस्थाको खाता नम्बर “Rolpali Sewa Samaj ( 05001010000136) मा जम्मा गरेर रसिद समेत पठाउन आग्रह गर्नुभएको छ।