जब शिक्षकले पाए सरप्राइज बर्थ डे गिफ्ट

जब शिक्षकले पाए सरप्राइज बर्थ डे गिफ्ट

पोखरा । अचानक शिक्षकलाई कक्षाकोठामा विद्यार्थीहरू झगडा गर्दै गरेको खबर आउँछ । त्यसपछि शिक्षक आफूले गर्न लागेको काम छोड्छन् र अत्तालिँदै झगडा भएको कक्षा कोठामा लाग्छन् ।हस्याङफस्याङ गर्दै शिक्षक झगडा परेजस्तो देखिने हुलमा पुग्छन् र छुट्याउन खोज्छ । त्यस बेलासम्म शिक्षकलाई न सर्प्राइज भन्ने नै थाहा हुन्छ न त्यहाँ भिडिओ नै खिचिएको ।

त्यसै क्रममा त्यो हुलबाट एक्कासि फुलको गुच्छासहित सर्प्राइज आउँछ- ह्याप्पी बर्थ डे सर । सुरुमा त शिक्षक अलमल्ल हुन्छन् । त्यसपछि बिस्तारै सबै विद्यार्थीलाई अङ्कमाल गर्दै खुशी साट्छन् । भावुक हुन्छन् र इमोसनल हुन्छन् । यो भिडिओ गत शुक्रबारको हो ।

पोखरामा रहेको गण्डकी बोर्डिङमा कार्यरत शिक्षक सुजन लम्साललाई गत शुक्रवार विद्यार्थीले दिएको सर्प्राइज बर्थ डे अहिले सामाजिक सञ्जालमा भाइरल छ । शिक्षक लम्सालको बर्थ डे शनिबार थियो । तर, विद्यार्थीहरूले शनिबार बिदा हुने हुँदा शुक्रबार नै प्लान बनाएका सर्प्राइज बर्थ डे मनाएका थिए । उक्त भिडिओ शनिबार मात्रै राखिएको थियो । अहिले इन्ट्राग्राममा मात्रै ३ करोड पटक हेरिसकिएको छ ।

Europass CV in Nepal

‘जन्मदिनको धेरै धेरै शुभकामना सुजन सर सधैं बाहिर निस्कनु भएकोमा धन्यवाद र हाम्रो लागि उत्कृष्ट दिनु भएकोमा, हाम्रो साथी भएकोमा धन्यवाद, हामीलाई ठूलो परिवार जस्तो महसुस गराउनु भएकोमा धन्यवाद । यो शरारत एक लिल ओभरबोर्डमा गएको हुन सक्छ, तर तपाईंको प्रयासले स्पष्ट रूपमा देखाउँछ कि तपाईं प्रत्येकको कति ख्याल गर्नुहुन्छ । माया र फूलको गुच्छा पठाउँदै’, इन्ट्राग्राममा भाइरल भएको भिडिओ क्याप्सनमा लेखिएको छ ।

यसो त शिक्षक लम्साल पनि विद्यार्थीको बर्थ डेमा खुलेरै सेलिब्रेट गर्थे । उनले विद्यार्थीको बर्थ डेमा कहिले गीत गाउँथे त कहिले रमाइलो गर्थे । त्यसैको फलस्वरुप विद्यार्थीले पनि शिक्षकको बर्थ डेको छेको पारी सर्प्राइज सेलिब्रेट गर्ने निधो गरे । कक्षा कोठामा झगडा गरेको नाटक गर्न तयार भए र शिक्षकलाई खबर गरे । शिक्षक हतारिँदै आए र उनीहरूले सर्प्राइज बर्थ डे सेलिब्रेट गरे ।

‘यो आफैंमा पनि ट्रेन हो । हाम्रो बर्थ डेमा सरले रमाइलो गर्नुहुन्छ । सरले गीत गाउनुहुन्छ । हामीले पनि सरको बर्थ डेमा केही गरौँ भनेर थोरै थोरै पैसा जम्मा गरेर केक लिएर बर्थ डे सेलिब्रेट गरेको हौँ’, सहभागीमध्येका विद्यार्थी समन गुरुङले भने ।

बर्थ डे सेलिब्रेटका लागि शिक्षकलाई झगडा परेको छ भनेर बोलाएको गुरुङले बताए । उनी भन्छन्, ‘म नै गएर फाइट हुँदैछ छिटो आउनु भनेर बनाएको हुँ । सर आत्तिँदै आउनुभयो । छुट्याउन खोज्नुभयो । त्यसपछि बर्थ डे सेलिब्रेट भन्ने थाहा पाउनुभयो । त्यसपछि स्पीचलेस हुनुभयो ।’

कक्षा सुरु हुनु १० मिनेट अघि नै विद्यार्थीले शिक्षक सुजनलाई कोठामा बोलाएका थिए । उनले कक्षा ११ र १२ लाई भौतिक शास्त्र पठाउने गर्दछन् । कक्षा १२ का विद्यार्थीले उनलाई कक्षा कोठामा बोलाएका थिए । विद्यार्थीले झगडा परेको बताएपछि आत्तिँदै कक्षा कोठामा पुगेका उनी त्यो देखेपछि एक छिन भावुक भए ।

‘एटेन्डेस्को समय थियो । शनिबार भयो बर्थ डे थियो । शनिबार सर आउनुहुन्न भनेर मलाई शुक्रबार नै बर्थ डे सेलिब्रेट गर्ने प्लान बनाएका रहेछन् । मलाई थाहा भएन । झगडा परेको छ भन्ने सुनेपछि सिधै कक्षामै गएँ’, शिक्षक सुजन लम्सालले नेपाल प्रेससँग भने, ‘तर, उनीहरू त त्यहाँ बर्थ डे सेलिब्रेटको प्लान पो बनाएका रहेछन् । इमोसनल भएँ । आँखाबाट आँसु आयो । केही बोल्न सकिनँ । अहिले पनि भिडिओ हेरेँ भने आँसु आउँछ ।’

यो सर्प्राइज विद्यार्थीले शिक्षकलाई गरेको माया भएको शिक्षक लम्साल बताउँछन् । उनी भन्छन्, ‘यो सर्प्राइज भनेको शिक्षकलाई विद्यार्थीले गरेको माया हो । यसलाई आफू शिक्षक हुँदा गर्व महसुस हुन्छ ।’

Europass CV in Nepal