दुबईमा हुने एक्स्पो साइन्समा सहभागी हुँदै दाङकी स्नेहा घिमिरे

दुबईमा हुने एक्स्पो साइन्समा सहभागी हुँदै दाङकी स्नेहा घिमिरे

घोराही, २२ पुस । विदेशमा हुन थालेको विज्ञान एक्स्पोमा सहभागी हुनदाङबाट स्नेहा घिमिरे छनोटमा पर्नुभएको छ । उहाँले आउँदो फेब्रुअरी २० देखि २५ सम्म दुबईमा आयोजना हुन लागेको मिलसेट एक्स्पो साइन्स एशियामा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । उहाँसँगै नेपालका छ प्रदेशबाट १० जना पनि एक्स्पोमा सँगसँगै सहभागी हुँदैछन् । लुम्बिनी प्रदेशबाट एक्स्पोमा सहभागी हुने भने स्नेहा एक्ली हुनुहुन्छ ।

सानैदेखि अन्तरीक्ष र अन्तरीक्षयात्रीका सन्दर्भले स्नेहालाई रोमाञ्चक बनाउँथे । स्कूल पढ्दै गर्दा हेरेका अन्तरीक्षसम्बन्धी हलिउड फिल्मले अन्तरीक्षयात्री बन्ने सपना देखाउँथे । गोरखा उच्च मावि घोराहीबाट विज्ञान विषयमा भर्खरै १२ पास गर्नुभएकी स्नेहा विज्ञान एक्स्पोमा छनोट हुँदै गर्दा बालापनमा देख्ने गरेको सपना सम्झाएको छ । एक्स्पोमा सहभागी हुँदै गर्दा बालापनमा देखेको सपना थोरै भए पनि काम गर्ने अवसर मिलेको उहाँको अनुभूति छ ।

स्नेहाले समूहमा आफूले विद्यालय तहमा विज्ञान विषय पढ्ने क्रममा गरिएको अभ्यासको एक्स्पोमा प्रस्तुति देखाउनुपर्नेछ । विश्वका ३० बढी देशका विद्यार्थीहरुले आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै एक्स्पोमा सहभागिता जनाउनेछन् । एक्स्पोमा सहभागी हुने देशको समूहले तीन–तीनवटाको समूहमा रहेर प्रयोगात्मकरुपमै प्रस्तुति गर्नुपर्नेछ । यसै अनुसार नेपालको समूह पनि तीनवटा समूहमा रहेर तयारी गरिरहेको छ ।

एक्स्पोमा स्नेहाको समूहले जीव विज्ञान र भौतिक विज्ञानका बारेमा प्रस्तुति देखाउने तय भएको छ । वर्षेनि हुँदै आएको यो प्रतियोगितामा २५ वर्षमुनिका विज्ञान विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभागिता हुनेगर्छ । नेपालबाट सहभागी हुन लागेका १० जनाको समूहमा तीनजना छात्रा र सातजना छात्र रहेका छन् ।

एक्स्पोमा सहभागी हुनका लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले एक्स्पोमा सहभागी हुन इच्छुक विज्ञान विषयका विद्यार्थीहरुमध्येबाट उनीहरुले स्कूल कलेज पढ्दा गरेका प्रोजेक्ट र एक्स्पोमा प्रस्तुत गर्ने प्रोजेक्टसम्बन्धी सोचका आधारमा छनोट गर्दछ । स्नेहाले छनोट चरण पार गरेर एक्स्पोमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लाग्नुभएको हो । नयाँयुगबोधबाट