अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरूषको तस्बिर सार्वजनिक

अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरूषको तस्बिर सार्वजनिक

अमेरिकाको ह्युस्टन प्रहरीले नेपाली छात्रा मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्तिको तस्बिर सार्वजनिक गरेको छ। यद्यपि, अभियुक्तको पहिचान अझै खुलेको छैन। यो जानकारी ह्युस्टन प्रहरीले दिएको विवरणलाई उद्धृत गर्दै नेपाली पत्रिका नेप्योर्क ले उल्लेख गरेको छ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा गोली लागेर मृत भेटिएकी थिइन्। सिसीटिभी फुटेजअनुसार, मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका थिए।

प्रहरीले हालसम्म ती व्यक्तिको पहिचान गर्न नसकेको बताएको छ। नेप्योर्क का अनुसार, मुनासँग प्रेम सम्बन्धमा रहेको भनिएको अमेरिकी युवक भने ती अभियुक्त नरहेको कुरा पनि प्रहरीको उद्धरणमा उल्लेख गरिएको छ।

अभियुक्तको पहिचानका लागि प्रहरीलाई समुदायको सहयोग आवश्यक रहेको बताउँदै, तस्बिरमा देखिएका व्यक्तिलाई चिन्ने वा देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न आग्रह गरिएको छ।

मुनाको हत्या गत सोमबार साँझ साढे ५ बजे भएको थियो। मुनाको परिवार भोजपुरबाट हो। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार साँझ आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन्। ह्युस्टन प्रहरीले मुनामाथि एकभन्दा बढी राउन्ड गोली प्रहार भएको जानकारी दिएको छ।

नेप्योर्कले काठमाडौंमा रहेकी मुनाको आमा अनिता पाण्डेसँग पनि कुराकानी गरेको थियो। अनिताले शनिबारदेखि छोरी सम्पर्कमा नरहेको र एक जना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको कारण केही तनावमा रहेको बताएकी थिइन्।

मुना पाण्डे अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी थिइन्। उनको शव पोस्टमर्टमका लागि पठाइएको छ, र ह्युस्टन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।