पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले छाडे नेकपा एमाले

पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले छाडे नेकपा एमाले

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले आफू कुनै पनि राजनीतिक दलसँग आवद्ध नरहेको घोषणा गरेका छन् । उनले फेसबुकमार्फत यो जानकारी सार्वजनिक गर्दै भने, “हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आवद्ध छैन ।”

खनालले आफू स्वतन्त्र रूपमा स्थानीय तथा राष्ट्रिय समस्याहरू समाधान गर्न काम गरिरहेको बताएका छन् । उनले भने, “राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पु¥याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । म देश र जनताको हितका लागि सधैं लडिरहनेछु ।”

खनालले यसअघि नेकपा एमालेबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । तर, उनले एमालेबाट निष्कृय भएको र नयाँ राजनीतिक बाटोबारे अहिलेसम्म कुनै निर्णय नगरेको पनि उल्लेख गरे ।

Europass CV in Nepal

खनालले २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको २६औं प्रमुखको रूपमा सेवा गरेका थिए । ३० वर्षे सेवा पछि अवकाश लिएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए । ६ असोज २०७९ मा औपचारिक रूपमा एमालेमा प्रवेश गरेका खनाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित पार्टी कार्यालयमा खादा लगाइदिएर स्वागत गरेका थिए ।

तर, एमालेमा प्रवेश पछि खनालले दुईवटा चुनावमा पराजय बेहोरेका थिए । काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका खनालले ८ हजार ९११ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालले १४ हजार २०४ मत ल्याएर विजयी भएका थिए । त्यसपछि तनहुँ-१ मा भएको उपनिर्वाचनमा पनि उनले ८ हजार ४८८ मत मात्र प्राप्त गरेका थिए भने रास्वपा नेता स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत ल्याएर जित हात पारेका थिए ।

खनालको एमाले छोड्ने निर्णयले उनको राजनीतिक भविष्यबारे नयाँ प्रश्न उठाएको छ । उनी अब कुन राजनीतिक दलसँग जोडिन्छन् वा स्वतन्त्र रूपमा कार्य जारी राख्ने छन् भन्ने विषय अहिले अनुत्तरित छ ।