मुख्य सामग्रीमा जानुहोस्
Sunday, 4 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

मधेशी महिला भएकै कारण स्वास्थ्य सचिव नियुक्तिमा पन्छाइयो

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं – सरकारले स्वास्थ्य सचिव नियुक्त गर्दा ज्येष्ठ उम्मेदवारलाई पन्छाएर कनिष्ठलाई चयन गरेको भन्दै चर्को आलोचना भइरहेको छ। वरिष्ठ उम्मेदवार डा. संगीता कौशल मिश्राले आफूलाई मधेशी महिला भएकै कारण सचिव पदबाट बञ्चित गरिएको गुनासो गरेकी छन्।

स्वास्थ्य सचिवका लागि बढुवा समितिले डा. मिश्रासहित डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो। मिश्राले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताको आधारमा आफू पहिलो स्थानमा रहे पनि सरकारको निर्णयले आफ्नो योगदान र अनुभवलाई उपेक्षा गरेको बताएकी छन्।

‘स्वास्थ्य सेवा ऐनअनुसार नियुक्ति ज्येष्ठता र कार्यसम्पादनका आधारमा हुनुपर्ने हो भने मलाई किन पन्छाइयो?’ उनले प्रश्न गर्दै भनिन्, ‘केवल मधेसी र महिला भएकैले यस्तो निर्णय गरियो भन्ने मेरो ठम्याइ छ।’

यसबारे स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भने सचिव नियुक्तिमा आफ्नो कुनै हस्तक्षेप नभएको दाबी गरेका छन्। उनका अनुसार बढुवा समितिको सिफारिसलाई सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको र त्यसैअनुसार निर्णय भएको हो।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार डा. मिश्राले समन्वयमा कमजोरी देखाएकाले उनको नाम पछि पारिएको हो। केही सहकर्मी र कनिष्ठ कर्मचारीहरूले मिश्राले जिम्मेवारी सम्हाल्ने क्रममा प्रभावकारी समन्वय गर्न नसकेको गुनासो गरेको अधिकारीको दाबी छ।

यस विषयलाई लिएर संसदमा समेत विरोध भइरहेको छ। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको निर्णयमाथि प्रश्न उठाउँदै मधेसी र महिला भएकै कारण मिश्रालाई सचिव पदबाट पन्छाइएको आरोप लगाए। ‘नियम र ज्येष्ठताको आधारलाई बेवास्ता गरेर मधेसी महिला उम्मेदवारलाई हटाउनु सरकारको विभेदपूर्ण नीति हो,’ उनले टिप्पणी गरे।

यो प्रकरणले नेपालमा महिला तथा मधेसी समुदायको प्रतिनिधित्व र अवसरसम्बन्धी बहसलाई थप चर्काएको छ। सरकारको निर्णयमाथि पुनर्विचार गर्न विभिन्न पक्षहरूले माग गरिरहेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।